एमाले अध्यक्ष केपी ओलीले नेपालमा विदेशीको रुचि र योजनाअनुसारको सरकार बनाउन खोजिए जनताको बलमा टिक्नै नदिइने घोषणा गरेका छन् । ४२औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले त्यस्तो बताएका हुन् ।
२१ फागुनको निर्वाचन नजिकिँदै गएका वेला विदेशी चलखेल बढेकोतर्फ संकेत गर्दै ओलीले विदेशी रुचिको सरकार बन्न नदिने र बनेकै अवस्थामा पनि टिक्न नदिइने दाबी गरे । ‘हामी नेपालमा नेपाली सरकार बनाउन चाहन्छौँ, अरू (विदेशी)को होइन । अरू (विदेशी)को सरकार बन्यो भने ढाल्छौँ, फाल्छौँ,’ उनले भने ।
रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोग फिर्ता लिने निर्णयले महान्यायाधिवक्ताको कार्यालय इतिहासमै कलंकित बनेको टिप्पणी गर्दै ओलीले करोडौँ हिनामिना गरेको जनताको पैसा कसले तिर्छ भन्दै प्रश्न पनि उठाए ।
‘अब कसैलाई कुनै कानुन लाग्दैन, मुद्दा लाग्दैन, कसैको सम्पत्ति मजाले खान पाइन्छ । हिजो भूलचुकले मुद्दा लागेको रहेछ भने पनि माफी–मिनाहा हुन्छ, अभियोग परिवर्तन गरिन्छ, फेरिन्छ, अभियोगबाट बरि गरिन्छ । उसैलाई चुनावमा हिरो बनाएर सारिन्छ,’ ओलीले भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलंकित भएको छ । लज्जाको विषय बनेको छ ।’
ओलीले महान्यायाधिवक्ता सरिता भण्डारीको कार्यशैलीप्रति प्रश्न उठाए । ‘डिम्बको कारोबार यसो बिर्सिऊँ भन्यो, फेरि अर्को काण्ड । अर्को काण्ड बिर्सिऊँ भन्यो, फेरि अर्को काण्ड । अहिले अभियोग परिवर्तनको काण्ड, मुद्दा फिर्ता काण्ड । दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ ? के महान्यायाधिवक्ताको कार्यालयले तिर्छ ?’ देश अहिले जसको लाठी उसको भैँसीजस्तो शासनको अवस्थाबाट गुज्रिरहेको उनको भनाइ थियो । उनले सामाजिक सञ्जालमार्फत समाज र देशमा अराजकता फैलाउन तथा नकारात्मक फैलाउन कसैले अनेक छौँडा खेलाइरहेको बताए ।
ओलीले नेपाली जनताले नचिन्ने विदेशी नोट लिएर काठमाडौंका मेयर बालेन्द्र शाह आफूसँग चुनाव लड्न झापा पुगेको आरोप पनि लगाए । ‘कोही कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेर हामीले नचिन्ने खालका नोट लिएर पुगेका छन् निर्वाचन क्षेत्रहरूमा । यी त हामीले झेलिरहेकै छौँ,’ ओलीले भने, ‘हामी प्रतिक्रियावादी शक्तिका मायादयाले यहाँ आएका होइनौँ, धेरै संघर्ष गरेर जित्दै यहाँसम्म आएका हौँ, हामी हार्दैनौँ, नेपाल र नेपालीले हार्दैन, किनभने एमाले यस देशमा छ, त्यसैले सबै प्रकारका ठगहरू, लुसिफरहरूले धेरै धाक नलगाउँदा हुन्छ ।’
सरकार अपदस्थ गर्नेदेखि देश जलाउने, सिंहदरबार, संसद् भवन जलाउनेले गर्वका साथ विध्वंसको जिम्मा लिइरहेको भन्दै ओलीले संसद् भवनदेखि नेताको आवास, पार्टी कार्यालयहरू, प्रदेश कार्यालय, स्थानीय तहका कार्यालयदेखि उद्यमी, व्यवसायीका भवनहरू जिम्मा लिनेहरूले कहिले बनाउँछन् भन्दै प्रश्न गरे ।
ओलीले कांग्रेसलाई जस्तै एमालेलाई पनि फेरि विभाजन गर्न खोजिए पनि सफल नभएको दाबी गरे । ‘कांग्रेसमा अहिले जे भइरहेको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर हल्लाहरूको तुवाँलो चिरेर, शेरबहादुरलाई अहिले बलजफ्ती निष्कासन भनेका छन् नि, त्यस्तै हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए, कारबाही हुनुपर्छ, जिम्मेवार हुनुपर्छ यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थिए,’ उनले भने ।