माघीका अवसरमा थारू समुदायमा विशेष उल्लासका साथ मनाइने उमरी माघी मेला आजदेखि कपिलवस्तुमा सुरु भएको छ । यहाँका स्थानीयले माघी पर्व सुरु हुनु केही दिनअघिदेखि नै घर–आँगन सजाउने, विभिन्न परिकार बनाउने र सांस्कृतिक कार्यक्रमका लागि अभ्यास गर्ने काम भइरहेको थियो ।
उमरी मेलालाई कपिलवस्तुको सबैभन्दा ठुलो माघी मेलाका रूपमा पनि लिइन्छ । शिवराज नगरपालिका–१ स्थित उमरी गाउँको थारू संग्रहालयपरिसरमा पाँच वर्षदेखि नियमित यो मेला सञ्चालन हुँदै आएको छ । मेलामा निःशुल्क आँखा शिविरसमेत सञ्चालन गर्ने थारू कल्याणकारिणी सभा शिवराज नगरपालिकाका नगर अध्यक्ष प्रकाश चौधरीले बताए।
माघी मेलाले समुदायभित्र सद्भाव, एकता र आपसी मेलमिलापलाई थप मजबुत बनाउने विश्वास लिइन्छ । मेलामा स्थानीय उत्पादन प्रवर्द्धनका लागि विभिन्न व्यापारिक स्टल, झुला तथा खेलकुदका सामाग्रीहरूसमेत राखिएका छन्।
स्थानीय उत्पादन, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको उमरी माघी मेलाले यस वर्ष पनि ठुलो संख्यामा दर्शक तथा सहभागीलाई आकर्षित गर्ने अपेक्षा आयोजकको छ ।
थारू समुदायले नयाँ वर्ष २६५० तथा महान पर्व माघी खिचडीको अवसरमा कपिलवस्तुका तीन पालिकामा नगरस्तरीय र एक दर्जनभन्दा बढी स्थानमा वडास्तरीय मेला तथा महोत्सव आयोजना गरिरहेको थारू कल्याणकारी सभा कपिलवस्तुले जनाएको छ । थारू समुदायको परम्परागत पहिचान, भेषभूषा, भाषा र संस्कृतिको जगेर्ना तथा प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवहरू आयोजना गरिएको उनको भनाइ छ ।