बागमती सरकारबाट प्रदेश प्रहरीलाई ३० मोटरसाइकल हस्तान्तरण

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौँडालाई ३० वटा मोटरसाइकल उपलब्ध गराएको छ। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सवारीसाधनको विकल्पका रूपमा प्रदेश सरकारले दुईपांग्रे सवारीसाधन उपलब्ध गराएको हो।

प्रदेश सरकारबाट विनियोजित ९७ लाख २० हजार रुपैयाँ बजेटबाट खरिद गरिएका १६० सिसीका मोटरसाइकल बिहीबार प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले संयुक्त रूपमा प्रदेश प्रहरी प्रमुख अरुण पौडेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले समन्वय, सहकार्य र सहअस्तित्वलाई आत्मसात गर्दै प्रहरीलाई मोटरसाइकल उपलब्ध गराइएको बताए। जेन-जी आन्दोलनका क्रममा खस्किएको प्रहरीको मनोबल उच्च बनाउने र प्रहरीको सबलीकरणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले निष्पक्ष र पारदर्शी रूपमा काम गर्नुपर्नेमा उनले जोड दिए।

आउँदो फागुन २१ गते हुने निर्वाचनलाई प्रभाव र दबाबमा नपरी कुनै दल विशेषको पक्षमा नलागी प्रहरीले जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा भयरहित वातावरणमा मतदान गराउने काममा सरकार आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रहरी समायोजन नहुँदा पनि जनताको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई प्रदेश सरकारले निरन्तर सहयोग गर्दै आएको बताए। उनले प्रदेश प्रहरीले पनि प्रदेश सरकारप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उल्लेख गरे। आर्थिक कठिनाइका बाबजुद जेन-जी आन्दोलनका क्रममा जलेका कार्यालयको मर्मतसम्भारका लागि बजेट विनियोजन गरिएको जानकारी पनि उनले दिए।

प्रदेश प्रहरी प्रमुख पौडेलले प्रदेश प्रहरी कार्यालयअन्तर्गतका इकाइहरूको भौतिक संरचना, सवारीसाधन तथा सिसिक्यामेरा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्दै आएको बताए। उनका अनुसार १ अर्ब रुपैयाँभन्दा बढी लागतमा ७२ वटा प्रहरी कार्यालय भवन प्रदेश सरकारकै सहयोगमा निर्माण भएका छन्। अहिले पनि पाँचदेखि ६ वटा कार्यालय भवन निर्माणाधीन रहेको उनले जानकारी दिए।

जेन-जी आन्दोलनका क्रममा सवारीसाधन जलेपछि प्रहरीको कार्यसम्पादनमा असर परेको उल्लेख गर्दै प्रहरी प्रमुख पौडेलले शान्ति सुव्यवस्थालाई थप प्रभावकारी बनाउन चारपांग्रे सवारीसाधनको पनि आवश्यकता रहेको बताए ।

सुझावित समाचार