सिन्धुलीको घ्याङलेकस्थित एसबिआई बैंकको शाखामा भएको लुटपाटमा बैंकको कार्यालय रहेको घरकै धनीको भूमिका शंकास्पद देखिएको छ। प्रहरीले घरधनी छविलाल स्याङ्तानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
उनलाई बर्दीबासबाट पक्राउ गरिएको उनको संलग्नताबारे अनुसन्धान जारी रहेको शुक्रबार विस्तृत विवरण सार्वजनिक गरिने सिन्धुलीका एसपी लालध्वज सुवेदी बताउँछन्। लुटेरा समूहसँग उनको कनेक्सन देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हालसम्म सो घटनामा संलग्न सातजना पक्राउ परिसकेका छन्। एकजना अझै फरार छन्। डकैतीको बारेमा लगभग धेरै कुरा खुलिसकेको प्रहरी स्रोत बताउँछ।
सिन्धुलीको घ्याङलेक गाउँपालिका– २, बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकमा मंगलबार साँझ साढे ७ बजे पेस्तोल र खुकुरी देखाएर तीन करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट भएको थियो । लुटिएकोमध्ये दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ । जंगलमा छाडेर भागेको अवस्थामा पैसा बरामद भएको हो।
लुटेराहरूले बनेपाबाट बिएडी ०३९८ नम्बरको टाटा सुमो बुक गरेर त्यहाँ पुगेका थिए। गाडीचालक भगतसिंह थापालाई केटी भगाउन जाने भनेर उनीहरूले लिएर गएकोसमेत खुलेको छ। चालक पनि अनुसन्धानका लागि प्रहरी नियन्त्रणमै छन्।