नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री हृदयराम थानीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय सार्वजनिक गरेका छन्।
देश जेन–जी आन्दोलनपछिका राजनीतिक उतार–चढाव र अन्याेलपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले संविधानलाई सही दिशामा अघि बढाउन तोकिएको मितिमै निर्वाचन हुनुपर्ने आवश्यकता औँल्याएका छन्। तर, व्यक्तिगत रूपमा भने आफू चुनावी प्रतिस्पर्धामा नउत्रिने बताएका छन्।
स्वास्थ्य अवस्थालाई कारण देखाउँदै थानीले माघ ६ गतेको मनोनयन दर्तामा सहभागी हुन नसक्ने र त्यसपछिका गतिविधिमा सक्रिय हुन असमर्थ हुने स्पष्ट पारेका छन्। उनले जारी गरेको सूचनामा खुट्टाको नसासम्बन्धी समस्याका कारण हाल घरमै फिजियोथेरापीमार्फत उपचार भइरहेको उल्लेख छ।
सुर्खेत क्षेत्र नम्बर २ बाट कांग्रेसको तर्फबाट उम्मेदवार सिफारिस भए पनि स्वास्थ्यले साथ नदिएपछि पछि हट्ने निर्णय लिएको उनले बताएका छन्।
६५ वर्षीय थानी यसअघि ०५६ र ०७९ मा प्रतिनिधिसभा सदस्य तथा ०७० मा संविधानसभा सदस्य रहँदै संविधान निर्माण प्रक्रियामा संलग्न थिए।