कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट २८० जना ज्येष्ठ नागरिक सम्मानित

बिहिबार, १ माघ, २०८२
डिजिटल संस्करण

ज्येष्ठ नागरिक समाजका अनुभवी मार्गदर्शक भएको उल्लेख गर्दै विजयनगर गाउँपालिकाले ८१ वर्ष उमेर पूरा गरेका २८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। चिसो मौसममा ज्येष्ठ नागरिकलाई सहज होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम  आयोजना गरिएको र  कम्बल र च्यवनप्रास वितरण गर्दै सम्मान गरिएको बताएको छ। 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले ज्येष्ठ नागरिकको योगदानकै कारण समाज आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै भने, ‘ज्येष्ठ नागरिक हाम्रो समाजका अमूल्य सम्पत्ति तथा मार्गदर्शक हुन् । उहाँहरूको सम्मान र संरक्षण गर्नु हाम्रो कर्तव्य हाे ।’  अध्यक्ष थापाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई लक्षित कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले गाउँपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको बताए । ‘सम्मान मात्र होइन, ज्येष्ठ नागरिकको स्वास्थ्य, संरक्षण र सेवासुविधामा पनि गाउँपालिकाले प्राथमिकता दिएको छ,’ विश्वकर्माले भने ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रेनु पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
 

सुझावित समाचार