एसबिआई बैंक लुटपाटमा संलग्न ६ जना पक्राउ

४२ लाखभन्दा बढी रकम अझै अज्ञात

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

सिन्धुलीको घ्याङलेकमा एसबिआई बैंक शाखा लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चालक र घरबेटीबाहेक अन्यको विवरण प्रहरीले सार्वजनिक गर्न चाहेको छैन । विवरण सार्वजनिक गर्दा थप अनुसन्धानमा प्रभावित हुने भएकाले बिहीबारसम्म सार्वजनिक गर्ने प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए । 

सिन्धुलीको घ्याङलेक गाउँपालिका– २ बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकमा मंगलबार साँझ साढे ७ बजे सात–आठजनाको समूहले स्वचालित हतियारसमेत देखाई लुटपाट गरेको थियो । लुटपाटमा संलग्न पाँचसहित प्रहरीले बैंक रहेको घरका घरबेटीलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले स्थानीयवासीको सहयोगमा बैंकबाट लुटिएको दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ ।

बोरा, झोलादेखि माटोमा पुरिएको अवस्थामा रकम फेला परेको उनले बताए । लुटेराले बैंकबाट करिब तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेको सुवेदीले बताए । लुटिएको ४२ लाख ४० हजार १०८ रुपैयाँको अवस्था अझै पत्ता लाग्न सकेको छैन । मंगलबार राति स्थानीयको सहयोगमा प्रहरीले लुटेराहरूले बनेपाबाट रिजर्भ गरी प्रयोग गरेको बिएडी ०३९८ नम्बरको टाटा सुमो र गाडीचालक भगतसिंह थापालाई घ्याङलेक गाउँपालिका– १ टुनीभञ्ज्याङबाट बुधबार बिहान नियन्त्रणमा लिएको थियो । 

लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले बैंक रहेको घरधनी छविलाल स्याङ्तानलाई महोत्तरीबाट नियन्त्रणमा लिएको छ । स्याङ्तानको पनि लुटपाटमा संलग्नता भएको हुन सक्ने प्रहरीको आशंका छ । 

सुझावित समाचार