बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले माघेसंक्रान्ति तथा माघी पर्वले नेपाली समाजमा एकता, सदभाव र आपसी मेलमिलाप सुदृढ गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। माघेसंक्रान्तिको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री बानियाँले माघी पर्व थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गरे पनि देशका विभिन्न भू–भागमा बसोबास गर्ने जातजाति र समुदायले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार मनाउँदै आएको उल्लेख गरेका छन्। विविधताभित्रको एकताले नै नेपालको पहिचान मजबुत बनाएको उनको भनाइ छ।
उनले माघेसंक्रान्तिमा तरुल, कन्दमूल, चाकु, तिलको लड्डु तथा विभिन्न परिकार खाने चलनले नेपाली समाजमा सामाजिक सदभाव र सांस्कृतिक एकतालाई बलियो बनाएको विश्वास व्यक्त गरेका छन् । यस्ता चाडपर्व तथा मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबिच सहअस्तित्व कायम गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
माघेसंक्रान्ति पर्वले समाजमा विद्यमान विभेद र विसंगतिहरू अन्त्य गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।