नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बागलुङका चारजना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति गगनकुमार थापा नेतृत्वको टिममा चारजना सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। केन्द्रीय सदस्य बन्नेमा चम्पादेवी खड्का, जगदीशचन्द्र उपाध्याय, टेकराज पौडेल र भीम श्रीष रहेका छन् । खड्का यसअघि पनि केन्द्रीय सदस्य हुन्।
उनी १३औँ र १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् भने यसपटक विशेष महाधिवेशनको पक्षमा खुलेरै लागेकी थिइन् । खड्का गण्डकी प्रदेश सभा सदस्यसमेत हुन् । खड्का महिला खुलाबाट केन्द्रीय सदस्य बनेकी छन्। त्यस्तै, १३औँ र १४औँ महाधिवेशनका कांग्रेस बागलुङको सभापतिका लागि भिडेका उपाध्याय विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। उपाध्याय खुला खसआर्यबाट केन्द्रीय सदस्य बनेका हुन् । कांग्रेसको महासमिति सदस्य रहेका उपाध्यायले विशेष महाधिवेशनको बागलुङ जिल्लाबाट नेतृत्व नै गरेका थिए ।
महाधिवेशनबाट पश्चिम बागलुङका नेता टेकराज पौडेल खुलातर्फबाट केन्द्रीय सदस्य बनेका हुन् । उनले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी दिएका थिए । पौडेल नेविसंघ, नेपाल तरुण दल हुँदै पार्टीको मूल राजनीतिमा होमिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदै कांग्रेसको मूल राजनीतिमा होमिएका भीम श्रीष पनि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । श्रीष आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्य बनेका हुन् । महासमिति सदस्यसमेत रहेका श्रीष १४औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यका लागि भिडेका थिए ।