प्रतिनिधिसभा निर्वाचनको मुखमा नेपाली कांग्रेस विभाजन भएको छ। विशेष महाधिवेशन पक्षका नेताहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको निर्णय संस्थापन पक्षले गरेपछि पार्टी विभाजित भएको हो। कारबाहीसम्बन्धी जानकारीसमेत संस्थापन पक्षले निर्वाचन आयोगलाई बुधबार नै दिइसकेको छ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेपछि पार्टी फुटतर्फ अघि बढेको थियो। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबिच चरण–चरणमा छलफल भए पनि सहमति नजुटेपछि पार्टी विभाजित भयो।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्नुभन्दा ६ दिनअघि पार्टी फुटेको छ। आगामी ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यसूची छ।
त्यसका लागि दुवै पक्षबिच आधिकारिताको लडाइँ चल्ने भएको छ। विशेष महाधिवेशनले आजै गगन थापालाई सर्वसम्मत नयाँ सभापतिका रूपमा चयन गर्ने तयारी छ।