ललितपुर महानगरपालिका– १७, बाफलमा डेरा गरी बस्दै आएका ८३ वर्षीय गर्जमान थापाको हत्या उनले लगाएको तीन आनाको सुनको औँठी लुट्ने उद्देश्यले भएको खुलेको छ । इलाम सूर्योदय नगरपालिका– १० स्थायी घर भएका थापाको २६ पुसमा हत्या भएको थियो । उनको हत्या आरोपमा प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनामा भारत मोतिहारी पुलिसथाना रक्सौलका २३ वर्षीय सदाम मन्सुरी, २२ वर्षीय युसुफ हवारी र २२ वर्षीय मोहमद नोमान संलग्न रहेको खुलेको छ । उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होवीन्द्र बोगटीले औँठी लुट्ने उद्देश्यले वृद्धको हत्या भएको बताए । उनले भने, ‘इलामका ८३ वर्षीय वृद्धको हत्यामा संलग्न तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूले औँठी लुट्ने उद्देश्यले हत्या गरेको अनुसन्धानबाट देखिन्छ । उनीहरूले घटना स्वीकार गरेका छन् । भाग्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।’
प्रहरीका अनुसार थापाको डेरानजिकै फर्निचर कारखाना थियो । कोठामा चिसो हुने भएपछि उनी दिउँसो घाम ताप्न फर्निचरतिरै निस्कने गर्थे । उक्त फर्निचरमा मन्सुरी, हवारी र नोमान काम गर्थे । थापासँग उनीहरू कुराकानी पनि गर्थे । यही क्रममा थापाले लगाएको औँठीमा उनीहरूको आँखा परेको थियो ।
गत २६ पुसको दिउँसो उनीहरूले थापालाई आफ्नो कोठामा लगे । हातखुट्टा नाइलनको डोरीले बाँधे । भुइँमा लडाएर चक्कुले घाँटी रेटे । हातको औँठी लुटे । थापालाई खाटमुनि लुकाए । साँझ फर्निचर फर्किए । सोफामा लगाउने गद्दा लिए । पसलबाट प्लास्टिक खरिद गरे । कोठामा पुगेर थापाको शवलाई सुरुमा गद्दा र त्यसपछि प्लास्टिकमा बेरे । त्यसपछि मध्यरातमा शव बोकेर कोठाबाट निकाले । नजिकै रहेको इनारमा खसाले र बलियो गरी ढक्कन लगाए ।
मृतक थापाका छोरा पूर्णबहादुरले बुवा हराएको भन्दै प्रहरीमा उजुरी गरे । घटना विश्लेषणपछि प्रहरीले फर्निचरमा कार्यरत मन्सुरी, हवारी र नोमानलाई पक्राउ गर्यो । तर, सुरुमा उनीहरूले घटना अस्वीकार गरे । वृद्धको शव २८ पुसमा इनारभित्र फेला परेपछि प्रहरीले घटनाको नयाँ ‘क्लु’ फेला पार्यो, जुन फर्निचरको सोफामा लगाउने गद्दा थियो । त्यसपछि बल्ल उनीहरूले घटना स्वीकार गरेको ललितपुर परिसर प्रमुख एसएसपी बोगटीले बताए । उनले भने, ‘सुरुमा यिनीहरूले घटना अस्वीकार गरेका थिए । जब शव फेला पर्यो, त्यसपछि रहस्य खुल्दै गयो । प्रमाण फेला परेपछि बल्ल घटना स्वीकार गरे । घटनामा संलग्न तीनैजना फर्निचरका मजदुर हुन् ।’
आगो ताप्ने निहुँमा झगडा हुँदा हत्या
गत २६ पुसमै सिन्धुली दुधौली नपा– ९ का २५ वर्षीय राजु थापा र उदयपुर त्रियुगा नपा– २ का २१ वर्षीय दीपेश दाहाल ललितपुर मनपा– ६ पाटन सुन्धारास्थित चौरमा आगो तापिरहेका थिए । यसक्रममा उनीहरूले मदिरा सेवन गरेका थिए । यही क्रममा सिन्धुली हरिहरपुरगढी गापा– २ का २४ वर्षीय विजय राई आगो ताप्न मिसिए । उनी पनि मदिरा सेवन गरेर त्यहाँ पुगेका थिए । मदिराको सुरमा दुई पक्षबिच विवाद सुरु भयो ।
उत्तेजित बनेका थापा र दाहालले राईलाई कुटपिट गरे । चोटले राई घटनास्थलमै ढले । स्थानीयको खबरपछि प्रहरी घटनास्थल पुग्यो । घाइते राईलाई उपचारका लागि जावलाखेलस्थित अल्का अस्पताल लगियो । चोटका कारण उनको मृत्यु भयो । घटनामा संलग्न थापा र दाहाल पक्राउ परेका छन् ।