विभाजनको डिलमा कांग्रेस

बुधबार, ३० पुष, २०८२
डिजिटल संस्करण
  • विशेष महाधिवेशन र वार्ता सँगसँगै बढिरहेका वेला दुवै पक्षले मंगलबार तय गरेका कार्यसूचीका कारण कांग्रेस विभाजनसम्मुख, सहमतिका लागि दुवै समूहका नेता लचिलो नभए आज वारपार

विभाजनउन्मुख पार्टी जोगाउन कांग्रेसका नेताहरू विभिन्न चरणमा वार्तामा बसे पनि मंगलबार मध्यरातसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन । दुवै पक्षले मंगलबारका लागि तय गरेका कार्यसूची हेर्दा कांग्रेस विवाद अब सहमतितर्फ नजाने हो भने बुधबार वारपारको अवस्थामा पुग्ने देखिएको छ । दुवै पक्षका आन्तरिक तयारी र नेताहरूका सार्वजनिक अभिव्यक्तिले पनि एक–अर्कालाई लामो समय पर्खने मनस्थितिमा नरहेको संकेत दिएका छन् । 

विशेष महाधिवेशन र वार्ता सँगसँगै अघि बढिरहेका वेला कांग्रेसको भविष्यलाई लिएर चौतर्फी चासो बढेको छ । सहमति खोज्ने क्रममा एक–अर्काका चासो सम्बोधन गर्ने प्रयास भए पनि केही आधारभूत मुद्दामा दुवै पक्ष अझै नजिक पुग्न सकेका छैनन् । सहमति जुटाउने प्रयासस्वरूप संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक एक दिन सारेको छ भने महामन्त्रीद्वय पक्षले विशेष महाधिवेशनको कार्यतालिका लम्ब्याएको छ ।

वार्तासँगै दुवै पक्षले एक–अर्कामाथि दबाब बढाउने गतिविधि र अभिव्यक्ति जारी राखेका छन् । विशेष महाधिवेशनले बुधबार नेतृत्व चयन गर्ने गरी निर्वाचन प्रक्रिया अगाडि बढाइसकेको छ । अर्कोतर्फ विशेष महाधिवेशनका गतिविधिमाथि नजर राखेको संस्थापन पक्षले मंगलबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बुधबारका लागि सारेको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भए महामन्त्रीद्वयमाथि कारबाही गर्ने तयारीसमेत संस्थापन पक्षले गरेको छ ।

मंगलबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दिनभरि भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्दसत्रमा व्यस्त रहे । उनीहरूले आफ्ना प्रस्ताव पारित गराएका छन् भने सहभागीहरूका सुझाव पनि सुनेका छन् । यस्तै, सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू र डा. शेखर कोइरालानिकट नेताहरूसँग छलफल गरेका छन् । 

यहीबिचमा सभापति देउवानिकट रमेश लेखक र बालकृष्ण खाण, डा. शेखरनिकट जीवन परियार र डा. मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय थापा र शर्मानिकट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे रहेको त्रिपक्षीय वार्ताकारहरू मंगलबार छलफलमा जुटे । संस्थापन र विशेष महाधिवेशन पक्षधरले सोमबार वार्ता समिति बनाएका थिए । 

बालुवाटारस्थित एक होटेलमा भएको छलफलको पहिलो चरणमा विशेष महाधिवेशनका प्रतिनिधिका रूपमा गएका पौडेल, आचार्य, घिमिरे र चालिसेले आफ्ना माग पेस गरे भने संस्थापन र कोइराला पक्षका नेताले जवाफ दिएनन् । दोस्रो चरणको छलफल गर्ने गरी उनीहरू उठे । 

तीनै पक्ष आ–आफ्नो समूहका नेताहरूसँग छलफल गरेर दिउँसो पुन: वार्तामा बसे । वार्तामा संस्थापन पक्षका नेताले विशेष महाधिवेशनमा पारित प्रस्ताव स्वीकार गर्न सकिने सकारात्मक जवाफ दिए । 

विशेष महाधिवेशन पक्षले सभापति देउवा नेतृत्वबाट पूर्ण रूपमा अलग हुनुपर्ने, उनले निर्वाचनसमेत नलड्ने प्रतिबद्धता जनाउनुपर्ने, विशेष महाधिवेशनबाट चयन अन्तरिम सभापति चयनलाई स्वीकार गर्नुपर्ने वा पार्टीको हाइकमान्ड बनाएर आगामी नियमित महाधिवेशनसम्म सामूहिक नेतृत्व (हाइकमान्ड)ले पार्टी सञ्चालन गर्नेदेखि निर्वाचनमा टिकट वितरणलगायतको निर्णय लिनुपर्ने विषय पेस गरेका थिए । 

बाँकी विषयमा लचकता भए पनि नेतृत्वका विषयमा सभापति देउवासँग सोधेर पुन: छलफलमा बस्नुपर्ने गरी दोस्रो चरणको वार्ता सकिएको थियो । त्यसपछि संस्थापन पक्षका वार्ता टोलीका नेताहरूले सभापति देउवा र डा. शेखरलगायतसँग छलफल गरेर सुझाव लिएका थिए ।

छलफलमा सहभागी धेरै नेताले पार्टी बचाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए । कतिपयले विशेष महाधिवेशनलाई वैधता दिन नहुने बरु केन्द्रीय समितिबाट महामन्त्रीद्वयलाई कारबाही गर्नुपर्नेसमेत धारणा राखेका थिए । 

विशेष महाधिवेशनले गरेका विधान संशोधन, पारित गरेका राजनीतिक र सांगठनिक प्रतिवेदनको स्वामित्व लिनुपर्ने इतर पक्षको माग छ । योसँगै सभापति देउवा राजनीतिबाट अलग हुनुपर्ने, बरु कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशन नभएसम्मका लागि अन्तरिम सभापति मान्न सकिनेलगायतका विकल्पमा छलफल भएको थियो । 

विशेष महाधिवेशनले पारित गरेका राजनीतिक, सांगठनिकसहितका नीतिगत प्रस्तावको स्वामित्व लिन संस्थापन पक्ष लचिलो भएको वार्तामा सहभागी नेताको दाबी छ । तर, सभापति देउवाको हस्ताक्षरबाट टिकट नबाँड्ने, उनले सभापति पद त्याग गर्ने वा निर्वाचन नलड्नेलगायतका विषय मान्न संस्थापन पक्ष तयार छैन । सभापति देउवालाई निकटस्थ वार्ताकारले लगातार ब्रिफिङ गरेका छन् । देउवाले निकटस्थ अन्य नेताहरूसँग पनि संवाद जारी राखेका छन् । 

२९ असोजमा कार्यवाहक नेतृत्व पूर्णबहादुर खड्कालाई सुम्पेका सभापति शेरबहादुर देउवाले अब नेतृत्व पूर्णत: परित्याग गर्नुपर्ने प्रस्ताव विशेष महाधिवेशन पक्षधरले राखेका छन् । मंगलबार अबेरसम्म कांग्रेस संस्थापन पक्ष, डा. शेखर कोइराला पक्ष र विशेष महाविधेशन पक्ष (गगनकुमार थापा–विश्वप्रकाश शर्मा) यही विषयमा छलफलमा थिए । तर, सहमति जुट्न सकेन । नेतृत्व परिवर्तनमा संस्थापन पक्ष तयार नभए विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व निर्वाचित गरेर वैधानिकताको लडाइँ लड्न तयार रहेको स्पष्ट सन्देश दिएका छन् । 

देउवाले राजीनामा वा नेतृत्वबाट अलग भएको घोषणा गरेसँगै विशेष महाधिवेशनबाट देउवाले भनेका व्यक्तिलाई पार्टीको १५औँ नियमित महाधिवेशनसम्म अन्तरिम सभापति मान्न तयार रहेको अर्को प्रस्ताव पनि गगन–विश्वका तर्फबाट पेस भएको थियो । तर, संस्थापन पक्ष मंगलबार अबेरसम्म तयार भएन । यद्यपि, यो प्रस्तावमा शेखर कोइराला पक्ष लचिलो रहेको सम्बद्ध स्रोतले नयाँ पत्रिकालाई बतायो । 

‘नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने हाम्रो कुरा हो, उहाँहरू त्यसमा तयार हुनुभएको छैन भन्ने जानकारी आएको छ,’ महामन्त्री थापानिकट केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले मंगलबार राति ११ बजे नयाँ पत्रिकासँग भने ।

विशेष महाधिवेशन निर्वाचन प्रक्रियातर्फ 
विशेष महाधिवेशनले वरिष्ठ अधिवक्ता तथा पार्टी निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)का अध्यक्ष सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि केन्द्रीय समिति भंग भएको छैन । निर्वाचन प्रक्रियाअनुसार बुधबार पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । यसमा एकजना सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठजना सहमहामन्त्रीको निर्वाचन हुनेछ । 

निर्वाचन समितिले १४औँ महाधिवेशनकै नामावली प्रकाशित गरेको छ । विगतमा ४,७४३ जना मतदाता रहेकोमा पार्टी छाडेका र मृत्यु भएकाको संख्या घटाएर अहिले ४,६३८ जनाको नामावली प्रकाशित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको समेत नाम उल्लेख भएकोमा नाम हटाउन राष्ट्रपति कार्यालयले अनुरोध गरेको प्रेस सल्लाहकार किरण पोखरेलले बताए । राष्ट्रपति पौडेलले कांग्रेसको सदस्यता परित्याग गरिसकेको उनको भनाइ छ । संस्थापन पक्षसँग सहमतिका लागि छलफल भइरहेका कारण निर्वाचन समितिले निर्वाचन गर्ने समय बुधबारलाई सारेको हो ।

विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक कांग्रेस नेता सुवास पोखरेलका अनुसार बन्दसत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरू नयाँ नेतृत्व चयन गर्ने मुडमा छन् । उनीहरूले मंगलबार बन्दसत्र सुरु हुनुअघि नयाँ नेतृत्व र नयाँ नीति बटमलाइन भन्दै भृकुटीमण्डपमा नाराबाजी गरेका थिए । 

मंगलबार केन्द्रीय समिति बैठक एक मिनेटमा स्थगित, आज पुन: बस्दै 
सहमति खोज्न दिनभर वार्ता चलेपछि कांग्रेस संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठक मंगलबार एक मिनेट बसेर स्थगित भएको छ । दिनभरि नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय गए पनि साँझ उपसभापति धनराज गुरुङले बैठक बुधबार बिहानसम्मका लागि स्थगित भएको सुनाए । संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरूबिच सहमति भए अनुमोदन गर्ने र नभए विगतमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरेर अघि बढ्ने संस्थापनको तयारी थियो । अब बुधबार बिहान ८ बजे बैठक बस्नेछ । 

महामन्त्रीको प्रस्ताव पारित
कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ । मंगलबार बन्दसत्रले उनीहरूको प्रस्ताव पारित गरेको छ । निर्वाचन आयोगमा यो बुझाइसकेपछि आगामी महाधिवेशनपछि लागू हुनेछ । पारित प्रस्तावअनुसार क्रियाशील सदस्यतालाई खुला सदस्यता गराउने, सभापतिदेखि हरेक तहमा विभिन्न जिम्मेवारीमा रहेका सबै अनिवार्य रूपमा तल्लो तह (वडा)बाट निर्वाचित भएर आउनुपर्ने, पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिस्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्येबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गर्ने पारित प्रस्तावमा छ । 

यसैगरी, समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुने अवसर एक व्यक्तिका लागि एकपटक मात्रै हुने, दुईपटक मात्रै प्रधानमन्त्री हुने, चारपटक भन्दा बढी सांसद हुन नपाइनेलगायत पनि पारित भएको छ । पेसागत र व्यावसायिक क्षेत्रका व्यक्तिलाई पार्टीको संरचनामा आबद्ध गर्न निर्वाचनमा निश्चित प्रतिशत उम्मेदवार बनाउने गरी छड्के प्रवेश (ल्याटरल इन्ट्री)को व्यवस्था गरिने प्रस्ताव पारित भएको छ । यसैगरी, केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिका २० र ३०–४० का २० गरी ४० जनाको प्रतिनिधित्व रहने, जिल्ला, संघीय क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका कार्यसमितिमा न्यूनतम ६/६ जना, वडा कार्यसमितिमा न्यूनतम चार/चारजना रहने । केन्द्र र प्रदेश महाधिवेशन प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र न्यूनतम एकजना ३० वर्षमुनिको पर्ने गरी जम्मा ४ जना प्रतिनिधि सुनिश्चित हुनेछ । प्रदेश कार्यसमितिमा दुवै उमेरका १०/१० जना रहने, केन्द्र र प्रदेश महाधिवेशन प्रतिनिधि हरेक निर्वाचन क्षेत्रबाट न्यूनतम दुई महिला र न्यूनतम एकजना ३० वर्षमुनिको पर्ने गरी जम्मा चारजना प्रतिनिधि सुनिश्चित हुने पनि पारित भएको छ । 

सुझावित समाचार