इन्ड्राइभका राइडर न्यूनतम भाडादरबाट असन्तुष्ट, भाडा बढाउने मागसहित सडकमा उत्रिए

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौँ । अनलाइन राइड–हेलिङ एप इन्ड्राइभले न्यूनतम भाडादर निरन्तर घटाउँदै लगेपछि राइडरहरू आक्रोशित बनेका छन्। न्यूनतम भाडा अत्यन्तै कम बनाइएको भन्दै राइडरहरूले ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभको कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

इन्ड्राइभले न्यूनतम भाडादर ३२ रुपैयाँ तोकेपछि राइडरहरूमा असन्तुष्टि चुलिएको हो। प्रदर्शनका क्रममा उनीहरूले ‘३२ रुपैयाँको न्यूनतम भाडा अन्यायपूर्ण छ’, ‘के हाम्रो श्रम र जीवन यति सस्तो हो?’, ‘थोरै आम्दानी, ठूलो संघर्ष भाडादर बढाऊ’ जस्ता नाराहरू लगाएका थिए।

प्रदर्शनमा सहभागी राइडरहरूका अनुसार यसअघि न्यूनतम भाडा ६०–६५ रुपैयाँ थियो। त्यसलाई घटाएर ४० रुपैयाँ बनाइयो र अहिले झनै घटाएर ३२ रुपैयाँ कायम गरिएको छ। उनीहरू भन्छन्, “यो निर्णयले हाम्रो श्रम र जीवनको मूल्यलाई अवमूल्यन गरेको छ।”

एक राइडरले भने, “३२ रुपैयाँमा त पेट्रोल खर्च पनि निस्कँदैन। हामीले गर्ने मेहनत र पाउने भाडा कुनै पनि हिसाबले मेल खाँदैन।”

अर्का एक राइडरका अनुसार दिनभरि काम गर्दा पनि न्यूनतम भाडाले जीविकोपार्जन गर्न कठिन भएको छ। उनले भने, “हामीले पटक–पटक आफ्ना समस्या कम्पनीसमक्ष राख्दा पनि बेवास्ता गरियो, त्यसैले बाध्य भएर सडकमा उत्रिनुपरेको हो।”

राइडरहरूले माग पूरा नभए आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्। उनीहरू श्रमको उचित मूल्य र अधिकारको सम्मान हुनुपर्ने माग गर्दै संघर्षलाई अझ सशक्त बनाउने बताएका छन्।

सुझावित समाचार