जवाफदेही सार्वजनिक शिक्षाको वकालतका लागि एआइ र डिजिटल उपकरणको प्रयोगसँगै त्यसको सीमाको विषयमा सजग बन्नु पर्नेम जोड दिइएको छ ।
खस्किंदो सार्वजनिक शिक्षाको सवलीकरणका लागि सरोकारवालालाई जवाफदेही बनाउन एआइ र डिजिटल उपकरणको सहयोगले वकालतीय प्रकृया सहज र सरल बनाउन सकिने भएपनि त्यसको सीमाको विषयमा सजग रहनु पर्नेमा जोड दिइएको हो ।
सिरहाको लहानमा मंगलबार सार्वजनिक शिक्षाको जवाफदेहीताका लागि नागरिक समाजको सशक्तिकरण कार्यक्रम अन्तर्गत वकालतका लागि एआइ र डिजिटल उपकरणको प्रयोग सम्बन्धी अभिमुखीकरणमा त्यसले दिएका सूचनासहित अन्य सामग्रीलाई सन्दर्भको रुपमा लिएर तथ्य जाँचसहित सहयोगी सामग्रीको रुपमा लिइनु पर्ने औंल्याइएको छ ।
सार्वजनिक शिक्षाको सवलीकरणको क्षेत्रमा काम गर्दै आएको कारखाना समूह, दलित समाज सेवा संघ र सिएसइ परियोजनाको आयोजनामा गरिएको अभिमुखीकरण कार्यक्रममा मोहित महर्जनले एआइ (कृत्रिम बृद्धिमता) को बारेमा सहजीकरण गरेका थिए । त्यसक्रममा उनले एआइले तयार गरेका तस्वीर लगायतका सामग्री चिन्ने तरीका र ध्यान दिनुपर्ने कुराहरु, च्याटजिपिटी, तस्वीरका लागि गुगल जेमिनी, संस्थागत कागजातहरुको संक्षेपीकरण तथा संश्लेषणका लागि नोटबुक एलएम, एआई मिटिङ् नोटस्, नोसन टुलकिट लगायतको बारेमा चर्चा गरे ।
सिरहा, धनुषा, महोत्तरीका शिक्षा सम्बन्धी काम गरिरहेका सामुदायिक संस्थाका प्रतिनिधिहरु सहभागी अभिमुखीकरणले सार्वजनिक शिक्षाको क्षेत्रमा पछिल्लो नवीनतम् डिजिटल सहयोगी एआइ र त्यसको प्रयोगको विषयमा आधरभूत जानकारी प्राप्त भएपनि व्यवहारिक प्रयोगका लागि थप व्यवहारिक कक्षा संचालन गरिनु पर्ने खाँचो औंल्याए ।