डेढ वर्षपछि त्रिशूलीमा भेटियो सिमलताल दुर्घटनाको गणपति डिलक्स बस

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

चितवनको भरतपुर–२९ सिमलतालमा डेढ वर्षअघि त्रिशूली नदीमा बेपत्ता भएको बसमध्ये एउटा बसको अवशेष फेला परेको छ। गणपति यातायातको गणपति डिलक्स बस भएको पुष्टि सशस्त्र प्रहरी बलले गरेको हो।

आइतबार बिहान नदीकिनारमा बसको अवशेष देखिएपछि उत्खनन सुरु गरिएको थियो। लगातार तीन दिनसम्म गरिएको खोजी तथा उत्खननको क्रममा मंगलबार बसको पहिचान खुलेको हो। खोजीमा संलग्न सशस्त्र प्रहरीका अनुसार उत्खनन गर्दा ‘गणपति डिलक्स’ लेखिएको भाग भेटिएपछि सोही बस भएको यकिन गरिएको हो। अहिले पनि थप अवशेष खोज्ने कार्य जारी रहेको जनाइएको छ।

२०८१ साल असार २८ गते बिहान काठमाडौंबाट गौरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नारायणगढबाट करिब २२ किलोमिटर पूर्वसिमलतालमा पहिरोमा बग्दै त्रिशूली नदीमा खसेका थिए। त्यसयता दुवै बस बेपत्ता थिए।

दुर्घटनाका समयमा दुवै बसमा सवार ६५ यात्रुमध्ये गणपति यातायातको बसका तीनजना यात्रु भने पौडेर ज्यान बचाउन सफल भएका थिए। घटनापछि खोजी कार्यमा केही यात्रुको शव मात्र फेला परेको थियो, बाँकी अझै बेपत्ता नै छन्।

सुझावित समाचार