मुस्ताङकाे लोमान्थाङबाट दुई करोडभन्दा बढीको इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित एकजना नियन्त्रणमा

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका– ४, नेचुङबाट पुस २८ गते दुई करोड २४ लाख ५९ हजार ३२० रुपैयाँबराबरको इलेक्ट्रिक चुरोटसहित सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका– ५ बस्ने अन्दाजी ३२ वर्षीय  पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।

ना.६ख ७५९१ नम्बरको कन्टेनरमा तीन–चार दिनअघि चाइनाबाट अवैध रूपले ल्याई नेपाल–चीन सिमानाको कोरोला नाकाअगाडि गाडीमा लोड गरेर राखेको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका लामा कन्टेनरका चालक रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदयबहादुर कुमालकाे कमान्डमा खटिएको सुरक्षा फौजसहित मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित नियन्त्रणमा लिएको हो । 

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ । कन्टेनर बिग्रिएको कारण सो कन्टेनरमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपर भने सोही ठाउँमा भन्सार कार्यालयले सिल गरी राखेको छ ।  
 

सुझावित समाचार