नेपाल–भारतबिच दुई सय र पाँच सयका भारतीय नोट ल्याउन र लैजान दिने गरी सरकारी निर्णय भएको एक महिनापछि कार्यान्वयनमा आएको छ । २९ मंसिरको मन्त्रिपरिषद्ले २५ हजार भारुसम्मको सीमामा दुई सय र पाँच सयका भारु नोट भारत–नेपालबिच ल्याउन–लैजान दिने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन ल्याउने गरी सोमबार राजपत्रमा सूचना प्रकाशन गरिएको हो ।
अब यसकै आधारमा नेपाल प्रहरीलगायतका निकायले आवश्यक कारबाही अघि बढाउन सक्नेछन् । बैंक तथा वित्तीय संस्थालगायतको हकमा राष्ट्र बैंकले थप एक औपचारिक सूचना भने निकाल्नुपर्नेछ । राजपत्रमा सूचना प्रकाशन भएसँगै आवश्यक निर्णय गर्ने तयारीमा राष्ट्र बैंक छ । यसअघि नेपालमा एक सयसम्मका भारु नोट मात्रै ल्याउन र लैजान पाउने व्यवस्था थियो । तर, भारतमा सयमाथि २००, ५०० र २००० का नोट पनि छन्, जुन नोट भारतीय रिजर्भ बैंकको निर्णयपछि नेपालमा ल्याउन र यहाँबाट भारत लैजान पनि प्रतिबन्ध लगाइएको थियो ।
तर, भारतले २८ नोभेम्बर अर्थात् १२ मंसिरमा आफ्नो राजपत्रमा सूचना सार्वजनिक गर्दै एक सयमाथिका भारु नोट नेपाल लैजान र नेपालदेखि ल्याउन दिने निर्णय गरेको थियो । त्यसपछि भारतीय रिजर्भ बैंकले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठुला दरका नोट पनि नेपाल–भारत ल्याउन–लैजान पाउने व्यवस्था गरेको थियो । लगत्तै नेपाल सरकारले पनि २९ मंसिरमा २०० र ५०० का भारु नोट भारतबाट ल्याउन र भारत लैजान दिने गरी निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न राजपत्रमा सूचना प्रकाशन गरेसँगै अब १००, २०० र ५०० का भारु नेपालबाट भारत लैजान र भारतबाट नेपाल ल्याउन पाइनेछ । त्यसमा २५ हजार भारुसम्मको सीमा छ । यो व्यवस्था सटही सुविधामा मात्रै लागू हुनेछ । आमसर्वसाधारणले चलनचल्तीमा भने प्रयोग गर्न पाउनेछैनन् ।