विस्तार हुँदै नेपाल–भारत अन्तरदेशीय अनलाइन भुक्तानी : १५ महिनामा चार अर्ब ५३ करोडको कारोबार

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

नेपाल–भारतबिचको अन्तरदेशीय अनलाइन कारोबार विस्तार हुन थालेको छ । भारतीय पर्यटकले नेपालमा सीमापार अनलाइन कारोबार (क्रसबोर्डर क्युआर पेमेन्ट)मार्फत चार अर्ब ५३ करोड ९० लाखबराबरको कारोबार गरेका छन् । यो केन्द्रीय बैंकले सार्वजनिक गरेको ०८१ असोजदेखि ०८२ मंसिरसम्मको तथ्यांक हो । 
क्रसबोर्डर क्युआर कारोबारमा देखिएको यो वृद्धिले पर्यटन, सीमावर्ती व्यापार र डिजिटल भुक्तानी औपचारिक माध्यममा बढ्न थालेको बुझिएको छ । विशेष गरी भारतसँगको सीमा क्षेत्रमा क्युआरमार्फत भुक्तानी बढ्दै जानु नेपालमा डिजिटल अर्थतन्त्र विस्तारको संकेत पनि हो । 

अहिले नेपाल–भारतबिचको अन्तरदेशीय अनलाइन कारोबार क्युआर माध्यमबाट मात्रै सञ्चालनमा रहेको र परीक्षणकालकै अवस्थामा रहेको केन्द्रीय बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले जानकारी दिए । उनले भने, ‘दुई देशबिचको यो कारोबार नागरिकस्तरमा सहजै अपनाइएको देखिन्छ । प्रविधिले पनि साथ दिएको देखिन्छ । तर, दुई देशको सरकारी निकायस्तरमा पनि यसलाई प्रयोगमा ल्याउन सके बल्ल सार्थकता पाउँछ । प्राविधिक हिसाबले केन्द्रीय बैंक सहजीकरणमा तयार छ ।’ केन्द्रीय बैंकले यसलाई थप विस्तारका लागि नीतिगत व्यवस्था गर्दै लैजाने तयारीमा रहेको पनि उनले जानकारी दिए ।

नेपालमा भित्रिने पयर्टक र अन्तर्राष्ट्रिय व्यापारमा भारतकै वर्चस्व रहेकाले पनि भारत र अरू देशसँग हुने यस्तो कारोबारमा फरक नीतिगत व्यवस्था आवश्यक पर्ने उनको भनाइ छ । तथ्यांकअनुसार मंसिरमा मात्रै ४२ करोड ४० लाखको कारोबार भएको छ । हालसम्म सबैभन्दा बढी कारोबार भने गत असार महिनामा ४४ करोड ७० लाखको कारोबार भएको थियो । 

नेपाल राष्ट्र बैंकअन्तर्गतको क्युआर प्रणालीमार्फत सुरु भएको क्रस–बोर्डर कारोबार असोज ०८१ मा ४३ हजार नौ सय ६ पटक हुँदा १३ करोड ९० लाख रुपैयाँको किनबेच भएको थियो । त्यसपछि कात्तिक र मंसिरमा कारोबार संख्या र रकम दुवै बढ्यो । गत वर्षको कात्तिकमा १५ करोड ६० लाख रुपैयाँ रहेको क्रसबोर्डर कारोबार मंसिरमा १९ करोड ३० लाख रुपैयाँ पुगेको थियो ।

०८१ को पुसमा भने क्रस–बोर्डर क्युआर कारोबारले ठुलो फड्को मार्यो । सो महिनामा कारोबार संख्या ५७ प्रतिशतभन्दा बढीले बढेर ८९ हजार एक सय ८६ पुगेको थियो भने कारोबार रकम पनि ६२ प्रतिशतले बढेर ३१ करोड ४० लाख रुपैयाँ पुगेको थियो । पुसपछि भने कारोबारमा गिरावट देखियो । ०८१ को माघमा कारोबार संख्या १७.४७ प्रतिशतले घटेर ७३ हजार ६ सय एकमा झर्यो भने कारोबार रकम पनि १७ प्रतिशतभन्दा बढी घटेर २६ करोड रुपैयाँमा सीमित रह्यो । फागुनमा कारोबार संख्या केही बढे पनि रकम भने २१ प्रतिशतले घटेर २० करोड ५० लाख रुपैयाँमा झरेको थियो ।

०८१ सालको चैतदेखि भने क्रस–बोर्डर क्युआर कारोबार पुनः लयमा फर्किएको देखिन्छ । चैतमा कारोबार रकम २५ करोड २० लाख, वैशाखमा २९ करोड ७० लाख र जेठमा ४० करोड ३० लाख रुपैयाँ पुगेको थियो । जेठमा कारोबार संख्या एक लाख ५० हजार दुई सय २८ पुग्दै मासिक आधारमा करिब ३० प्रतिशत वृद्धि देखिएको थियो । असारमा कारोबार रकम ४४ करोड ७० लाख रुपैयाँ पुग्यो । यो हालसम्मकै उच्च मासिक कारोबार रकम हो । 

 नागरिकस्तरमा सहजै अपनाइएको देखिन्छ
गुरुप्रसाद पौडेल, प्रवक्ता, राष्ट्र बैंक 

नेपाल र भारत दुई देशबिचको अनलाइन कारोबार नागरिकस्तरमा सहजै अपनाइएको देखिन्छ । प्रविधिले पनि साथ दिएको देखिन्छ । तर, दुई देशको सरकारी निकायस्तरमा पनि यसलाई प्रयोगमा ल्याउन सके बल्ल सार्थकता पाउँछ । प्राविधिक हिसाबले केन्द्रीय बैंक सहजीकरणमा तयार छ । केन्द्रीय बैंकले यसलाई थप विस्तारका लागि नीतिगत व्यवस्था गर्दै लैजाने तयारी गरेको छ । नेपालमा भित्रिने पयर्टक र अन्तर्राष्ट्रिय व्यापारमा भारतकै वर्चस्व रहेकाले पनि भारत र अरू देशसँग हुने यस्तो कारोबारमा फरक नीतिगत व्यवस्था आवश्यक छ । 

सुझावित समाचार