बहुप्रतीक्षित काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा अग्लो पुल तयार भएको छ । मकवानपुरको लेनडाँडा क्षेत्रमा ८२ मिटर उचाइ र ३३९ मिटर लम्बाइ रहेको पुल निर्माण भएको हो । फास्ट ट्र्याक निर्माण गरिरहेको सेनाका अनुसार यो पुल एसियाकै जटिलमध्येको हो ।
सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले फास्ट ट्र्याकअन्तर्गतको सबैभन्दा अग्लो पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न हुने चरणमा पुगेको र केही दिनमै उद्घाटन गरिने बताए । ‘फास्ट ट्र्याकअन्तर्गत सबैभन्दा अग्लो पुल करिब–करिब तयार भएको छ । निर्माणमा संलग्न गाडीहरू अहिले सोही पुलमाथि गुड्न थालेका छन् । अबको केही दिनभित्रै उद्घाटन गर्ने योजना छ । यो फास्ट ट्र्याक निर्माणअन्तर्गत अर्को ब्रेक थ्रु हो ।’
दुईतर्फ सुरुङमार्गलाई जोड्ने यो नेपालकै पहिलो र हालसम्मकै अग्लो पुल हो । छुट्टाछुट्टै दुई लेनमा निर्माण गरिएको पुलमा पिलर मात्रै १६ वटा हालिएका छन् । चिनियाँ कम्पनी पोली छङ्दा इन्जिनियरिङ कर्पोरेसनले यो पुल निर्माण गरेको हो । प्याकेज २ र ४ अन्तर्गत निर्माण हुँदै गरेको यसलाई एसियाकै नमुना पुलको रूपमा लिइएको छ ।
फास्ट ट्र्याकअन्तर्गत सबै गरी ८९ पुल निर्माण हुने भनिएका छन् । जसमध्ये नौ पुलको निर्माण कार्य पूरा भइसकेको छ । सेनाका अनुसार निर्माणाधीनमध्ये अधिकांश पुलको फाउन्डेसन कार्य सकिएको छ । ती पुलको अहिले सुपरस्ट्रक्चर निर्माणको काम चलिरहेको सहायक रथी बस्नेतले बताए ।
६ किमि सुरुङमार्ग निर्माण सम्पन्न
सेनाले फास्ट ट्र्याकअन्तर्गत सात सुरुङमार्ग निर्माण गर्दै छ । जसको कुल लम्बाइ १०.९०१ किमि छ । मंसिर मसान्तसम्मको प्रगति विवरणअनुसार ६.०७७ किमि सुरुङमार्गको निर्माण कार्य पूरा भइसकेको छ । यो कुल लम्बाइको ५५.७४ प्रतिशत हो । बाँकी ४.८२४ किमि सुरुङमार्ग निर्माण भने जारी छ । सुरुङमार्गको अधिकांश भाग पनि पोली छङ्दाले नै गर्दै आएको छ । बाँकी भागमा चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।
सेनाका अनुसार निर्माणाधीनमध्ये महादेवटार खण्डको ३.३५५ किमि सुरुङमार्ग ब्रेक थ्रु हुने चरणमा पुगेको छ । मंसिर मसान्तसम्मको तथ्यांकअनुसार जसको कुलमध्ये ०.९६० किमि खण्ड मात्रै निर्माण हुन बाँकी छ । त्यस्तै, चन्द्राम भिरअन्तर्गतको २.२५० किमि सुरुङमार्गको दायाँ भागमा ०.३७० किमि र बायाँ भागमा ०.२६६ किमि प्रगति भएको छ । बाँकी देवीचौर, सिसौटार र मौरीभिर खण्डको सुरुङमा भने ट्र्याक खोल्ने कार्य हुँदै छ । जसको लम्बाइ क्रमशः १ किमि, ०.३९० किमि र ०.५९४ किमि छ । सैनिक सूचना अधिकारी बस्नेतले भने, ‘हालसम्म ६ किमिभन्दा धेरै सुरुङमार्ग निर्माण सम्पन्न भएका छन् । अब करिब साढे ४ किमि निर्माण गर्न बाँकी छ । काम धमाधम भइरहेको छ ।’
फास्ट ट्र्याकको कुल भौतिक प्रगति करिब ४५ प्रतिशत
७०.९७ किमि फास्ट ट्र्याकको छुट्टाछुट्टै १३ प्याकेजमा काम भइरहेको छ । कुल भौतिक प्रगति ४४.४३ प्रतिशत मात्रै छ । अर्थात् ५५.५७ प्रतिशत भाग बाँकी नै छ । जसले निर्धारित समयभित्रै निर्माण सकिनेमा आशंका छ । सेनाले निर्माणका लागि हालसम्म पाएको समय अब १५ महिना मात्रै अर्थात् ०८३ चैतसम्मको समय छ ।
सेनाले फास्ट ट्र्याक निर्माणको जिम्मा २१ वैशाख ०७४ मा पाएको थियो । दुई वर्ष डिपिआर(विस्तृत परियोजना प्रतिवेदन) विनै काम गर्यो । कोरियन कम्पनीले बनाएको डिपिआर १ भदौ ०७६ मा बल्ल स्वीकृत भयो । सेनाले सोही दिनलाई फास्ट ट्र्याक निर्माणको प्रस्थान विन्दु मान्दै आएको छ । सोही दिनबाट गणना गर्दा पनि सेना फास्ट ट्र्याकमा संलग्न भएको ६ वर्ष भइसकेको छ । यस अवधिमा फास्ट ट्र्याक निर्माणको भौतिक प्रगति प्रतिवर्ष ७.४०५ प्रतिशत मात्रै भएको देखिन्छ । बाँकी ५५.५७ प्रतिशत काम अबका १५ महिनामा पूरा गर्नु मुस्किल देखिन्छ । निर्धारित समयमै काम सक्ने हो भने सेनाले प्रतिमहिना ३.७० प्रतिशतले कामको रफ्तार बढाउनुपर्ने हुन्छ, जुन सम्भव देखिन्न ।
सहायक रथी राजाराम
बस्नेत, सूचना अधिकारी, सेना
फास्ट ट्र्याकअन्तर्गत सबैभन्दा आग्लो पुल करिब–करिब तयार भएको छ । निर्माणमा संलग्न गाडीहरू अहिले सोही पुलमाथि गुड्न थालेका छन् । अबको केही दिनभित्रै उद्घाटन गर्ने योजना छ । यो फास्ट ट्र्याक निर्माणअन्तर्गत अर्को ब्रेक थ्रु हो ।
फास्ट ट्र्याक निर्माणका लागि कुल बजेट दुई खर्ब ११ अर्ब निर्धारण भएको छ । जसमध्ये ४५.२२ प्रतिशत अर्थात् ९५ अर्ब ४१ करोड ४२ लाख खर्च भइसकेको छ । सेनाका सूचना अधिकारी बस्नेतले फास्ट ट्र्याकको भौतिक प्रगति आशालाग्दो ढंगले वृद्धि भएको र निर्धारित समयभित्रै सक्ने गरी काम भइरहेको दाबी गरे । ‘मंसिर मसान्तसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४४.४३ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ४५.२२ प्रतिशत भएको छ । सबैभन्दा अप्ठ्यारो मानिएका काम सम्पन्न भएका छन् । कतिपय सम्पन्न हुने चरणमा छन् । त्यसैले निर्धारित समयमै निर्माण सक्ने गरी काम अघि बढेको छ,’ उनले भने ।
सरकारले चार वर्षभित्र काम सक्न भन्दै २१ वैशाख ०७४ मा फास्ट ट्र्याकको जिम्मा सेनालाई दिएको थियो । निर्धारित समयमा काम भएको भए फास्ट ट्र्याक ०७८ को वैशाखमा नै सकिन्थ्यो । डिपिआरमा विवाद, सुरुङ तथा पुल निर्माणमा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिमा ढिलाइलगायतका कारणले निर्माणले गति लिन सकेन । विवादकै कारण करिब दुई वर्ष त सेनाले डिपिआरविना काम गर्यो ।
१ भदौ ०७६ मा कोरियन कम्पनीले बनाएको डिपिआर स्वीकृत भयो । त्यसपछि मात्रै सेनाले डिपिआरअनुसार काम गर्देै आएको छ । सेनाले सम्झौता मिति पनि डिपिआर स्वीकृत भएको दिनलाई नै मानेको छ । त्यसवेला ५५.५ किमि सडक र ७१ वटा पुल निर्माणको लागत रकम एक खर्ब ७५ अर्ब १९ करोड लाग्ने भनिएको थियो । सात सुरुङ र १६ पुलको लागत रकम पनि यसैमा समेटिएको थियो । तर, निर्धारित समयभित्र फास्ट ट्र्याक निर्माण नभएपछि लागत रकम बढेर दुई खर्ब ११ अर्ब पुगेको छ ।
प्याकेज नम्बर ११ अन्तर्गत ६ किमिमा काम नै सुरु भएन
१३ प्याकेजमा काम भइरहेको फास्ट ट्र्याकमा प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८(ख), ९(क), ९(ख) र १० को काम निर्माणाधीन छ । तर, प्याकेज नम्बर ११ को काम सुरु नै भएको छैन । जसको लम्बाइ करिब ६ किमि छ । यो खण्ड ललितपुरस्थित खोकना–डुकुछाप क्षेत्रमा पर्छ । फास्ट ट्र्याकको प्रस्थानविन्दु मानिएको यो खण्डमा हालसम्म मुआब्जासमेत वितरण हुन सकेको छैन । रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले खोकना खण्डमा केही समस्या रहेको र त्यसलाई समाधान गर्न सरकार लागिरहेको बताए । ‘फास्ट ट्र्याकको काठमाडौंतर्फको प्रस्थानविन्दुमा केही समस्या देखिएका छन् । स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न भइरहेका छन् । कतिपयले मुआब्जा लिइसकेका छन्, केहीको बाँकी छ,’ उनले भने ।
खोकनाका स्थानीयले फास्ट ट्र्याकको प्रस्थानविन्दु परिवर्तन गरिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले यस विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई समेत गत २६ जेठमा भेटेरै ज्ञापनपत्र बुझाएका थिए । फास्ट ट्र्याकको प्रस्तावित सुरुवाती विन्दुले खोकनाको परम्परागत सभ्यता र संस्कृति मासिने स्थानीयको दाबी छ । डुकुछापलाई प्रस्थानविन्दु बनाउन उनीहरूको प्रस्ताव छ । डुकुछाप हालको प्रस्तावित विन्दुभन्दा साढे पाँच किमि दक्षिणतर्फ पर्छ ।