राष्ट्रिय सभा निर्वाचन : बागमतीका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशतर्फका दुई सिटमा उम्मेदवारी दर्ता गराएका ६ जना उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको छ ।
निर्वाचन प्रक्रियाअन्तर्गत बागमती प्रदेश निर्वाचन कार्यालयले सोमबार हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम नामावलीमा कायम रहेका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार अन्तिम नामावली प्रकाशित भएसँगै सोमबार चिह्न वितरण गरिएको हो । महिला क्लस्टरतर्फ सत्तागठबन्धनबाट कांग्रेसकी चितवननिवासी गीता देवकोटालाई कांग्रेसको चुनाव चिह्न ‘रुख’ प्रदान गरिएको छ । यस्तै, अन्य समूहअन्तर्गत गठबन्धनबाट उम्मेदवार बनेका काठमाडौंका डा. प्रेमप्रसाद दंगाललाई एमालेको चुनाव चिह्न ‘सूर्य’ प्रदान गरिएको छ । दंगाल एमालेनिकट अखिल नेपाल कृषक महासंघका केन्द्रीय अध्यक्षसमेत हुन् ।

महिला क्लस्टरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार सरोजकुमारी झालाई ‘पाँचकुने तारा’ चिह्न प्रदान गरिएको छ भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की उम्मेदवार कविता महर्जनलाई ‘मादल’ चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । अन्य समूहअन्तर्गत नेकपाका उम्मेदवार प्रेमप्रसाद सापकोटालाई पनि ‘पाँचकुने तारा’ चिह्न दिइएको छ । यस्तै, नेमकिपाबाट उम्मेदवार बनेका विक्रम ढुकुछुलाई ‘मादल’ चिह्न प्रदान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । बागमती प्रदेशबाट आगामी फागुनमा पदावधि सकिने दुई राष्ट्रिय सभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो । बागमतीबाट हाल राष्ट्रिय सभा सदस्य रहेका तत्कालीन नेकपा (एकीकृत समाजवादी)का बेदुराम भुसाल र गंगाकुमारी बेलबासेको पदावधि सकिन लागेको हाे।

सुझावित समाचार