नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति, वरिष्ठ अधिवक्ताहरूसँग छलफल गरेका छन् । छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फुटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
कोइरालाले आफूविबिष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा जुटिरहेको बताए । कोइरालाले भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न दिनुहुन्न भनेर कुरा गरिरहेको छु।’ उनले अगाडि भने, ‘तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन । तपाईंहरू पनि त्यसैमा लाग्नुस्। निराश हुने कामै छैन ।’
उक्त छलफलमा कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र भएको बताए । अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध पनि नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने बताए ।
उक्त छलफलमा सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा. शेखर कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका थिए ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मीनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू- शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।