राष्ट्रिय लिग– २०८२ : खेलाडी भित्र्याउने होडबाजीमा क्लबहरू

३० पुसदेखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि क्लबहरू धमाधम खेलाडी भित्र्याउँदै, यसअघिको ‘ए’ डिभिजन लिगमा संकटा क्लबबाट खेलेका राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगी योपटक एनआरटीमा आबद्ध

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय लिग फुटबल प्रतियोगिता आगामी ३० पुसदेखि सुरु हुँदै छ । सहभागी १७ क्लबहरूले लिगका लागि खेलाडी अनुबन्ध गर्ने क्रमलाई तीव्रता दिएका छन् । न्युरोड टिम (एनआरटी)ले आइतबार राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई सम्झौता गरेको छ । राष्ट्रिय लिगअघि भएको मैत्रीपूर्ण खेलमा मनीषले एनआरटीको जर्सीमा प्रतिस्पर्धा गरेका छन् । 

विभागीय टोली एपिएफ क्लबविरुद्ध १–१ को बराबरी हुँदा मनीषले एनआरटीका लागि गोल गरेका थिए । खेलको ३५औँ मिनेटमा मनीषले एनआरटीलाई १–० को अग्रता दिलाए । एपिएफका प्रदीप लामाले ४६औँ मिनेटमा १–१ बराबरी गोल फर्काए । घरेलु व्यावसायिक फुटबलमा मनीषले संकटा क्लबबाट ०७९/८० को सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । उनले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबबाट पनि खेलिसकेका छन् । उनले पछिल्लो समय नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीबाट खेलेका थिए । खालीबारी युवा क्लबबाट सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलेर मनीषले सिधै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । राष्ट्रिय टोलीमा आबद्ध युवामध्ये मनीष प्रतिभावान् खेलाडी हुन् । सन् २०२१ मा राष्ट्रिय टोलीबाट इराकविरुद्ध डेब्युको अवसर पाए । 

मनीष सन् २०२१ को साफ च्याम्पियनसिपमा राष्ट्रिय टोलीका प्रमुख खेलाडी थिए । माल्दिभ्सविरुद्धको प्रतिस्पर्धामा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । सन् २०२२ मा नेपालले एएफसी यू–२३ एसियन कप छनोटमा सहभागिता जनाउँदा मनीषले आफ्नो स्थान पक्का पारे । यू–२३ टोलीमा उनले इन्डोनेसियाविरुद्ध डेब्यु गरेका थिए । यसैगरी, सन् २०२६ को फिफा विश्वकप छनोटमा लाओसविरुद्ध एक गोल गरेका थिए । उनले अहिलेसम्म राष्ट्रिय टोलीबाट ३९ खेलमा पाँच अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

अञ्जनलाई भित्र्याउने तयारी
एनआरटी राष्ट्रिय लिगमा उपस्थिति दरिलो बनाउने योजनासहित अगाडि बढिरहेको छ । यसैक्रममा एनआरटीले घरेलु फुटबलकै अर्का चर्चित खेलाडी अञ्जन विष्टलाई अनुबन्धन गर्न तयारी थालेको छ । अञ्जन अहिले बंगलादेशको लिग खेलिरहेका छन् । राष्ट्रिय लिग सुरु हुनुअघि नै बंगलादेशको लिग सम्पन्न हुँदा उनी नेपाल फर्किनेछन् । एनआरटीले प्रशिक्षकमा जीवन सिन्केमान र व्यवस्थापकमा सुरेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यद्यपि, नेपालको राष्ट्रिय टोली, जापानलगायत एसियाली मुलुकका खेलाडी अनुबन्धको तयारीमा एनआरटी छ । राष्ट्रिय लिगमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका १३ सहित एन्फा प्रेसिडेन्ट कपमा छनोट भएका चार टोलीले पनि प्रतिस्पर्धा गर्नेछन् । 

रूपेश फ्रेन्ड्समा 
घरेलु फुटबलका अनुभवी सेन्ट्रल मिडफिल्डर रूपेश केसी फ्रेन्ड्स क्लबमा आबद्ध भएका छन् । अघिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले फ्रेन्ड्सबाटै प्रतिस्पर्धा गरेका थिए । त्यसयता उनी मोफसलमा आयोजना भएका विभिन्न गोल्डकप फुटबलमा भने थ्री स्टारको जर्सीमा देखिएका थिए । उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्म सहजै स्थान बनाएका रूपेश एन्फा एकेडेमीका उत्पादन हुन् । करिअरमा उनले थ्री स्टार र मनाङ मस्र्याङ्दीजस्ता क्लबबाट शीर्ष डिभिजन खेलिसकेका छन् । रूपेशसँगै गोलरक्षकमा मौसम, दीपेश घले, मिडफिल्डरमा प्रशान्त लक्सम, स्ट्राइकरमा आशिष चापागाईं र राजेश परियारलाई फ्रेन्ड्सले अनुबन्ध गरेको छ । 

मिडफिल्डर प्रशान्तले उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेका छन् । पछिल्लोपटक उनले चाइनिज ताइपेईमा भएको एएफसी यू–२० एसियन कप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए । सन् २०२३ मा काठमाडौंमा भएको साफ यू–१९ च्याम्पियनसिप, सन् २०२२ मा श्रीलंकामा भएको साफ यू–१७ च्याम्पियनसिप र भियतनाममा सम्पन्न एएफसी यू–१७ एसियन कप छनोटमा प्रशान्त नेपाली टोलीका प्रमुख खेलाडी थिए । यसैगरी, फ्रेन्ड्सले गोलरक्षको जिम्मेवारी मौसमलाई सुम्पिएको छ । मौसमले गत वर्षको जेठमा भएको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए । ‘सी’ डिभिजनमा मौसमकै योगदानमा सुर्खेतको आरसी ३२ दोस्रो स्थानमा रहँदै ‘बी’ डिभिजनमा उक्लिएको थियो । 

एपिएफमा सन्तोष
थ्री स्टारसँगको विवाद सुल्भिएपछि ‘ए’ डिभिजन क्लबको हैसियत रक्षा गरेको विभागीय टोली नेपाल एपिएफले राष्ट्रिय लिगका लागि उदीयमान मिडफिल्डर सन्तोष खत्रीलाई भित्र्याएको छ । सन्तोषले गत वैशाखमा भएको तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा च्याम्पियन ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरेका थिए । ललितपुरले उपाधि रक्षा गर्दा सन्तोष प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भएका थिए । दोस्रो नेपाल सुपर लिगमा उनले स्पोर्टिङ मेची दी इलामबाट खेलेका थिए । सन् २०२५ को सेप्टेम्बरमा ताजकिस्तानमा भएको एएफसी यू–२३ एसियन कप छनोटमा उनी नवीन न्यौपानेको नेतृत्वमा रहेको टोलीका प्रमुख खेलाडी थिए । तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले फ्रेन्ड्स क्लबबाट खेलेका थिए । 

कुलदीपको नयाँ गन्तव्य सातदोबाटो
घरेलु फुटबलकै अनुभवी खेलाडी कुलदीप कार्कीले सातदोबाटो युवा क्लबबाट राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् । गत वैशाखमा भएको तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा उनले काठमाडौं रेजर्सको कप्तानी गरेका थिए । उनले पहिलो संस्करणमा चितवन एफसीबाट खेलेका थिए । मंसिरमा भएको एन्फा प्रेसिडेन्ट लिगमा कुलदीपले चित्लाङ एफसीको प्रतिनिधित्व गरेका थिए । उनकै कप्तानीमा चित्लाङ टोली राष्ट्रिय लिगका लागि छनोट भयो । तीन वर्षअघिको ‘ए’ डिभिजन लिगमा उनले संकटाको कप्तानी गरेका थिए ।

सातदोबाटोले लिगका लागि सुरजजिउ ठकुरी, पासाङ लामा र स्ट्राइकर समीर तामाङलाई क्लबमा अनुबन्ध गरिसकेको छ । प्रशान्तले तीन वर्षअघि ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडलाई विजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले दोस्रो नेपाल सुपर लिगमा झापा एफसी र तेस्रो संस्करणमा धनगढी एफसीबाट प्रतिस्पर्धा गरेका थिए ।

सुझावित समाचार