आइतबार : १० बजेसम्मका १० मुख्य खबर

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

महामन्त्रीद्वय थापा र शर्माले गरे विशेष महाधिवेशन उद्घाटन
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन्। महामन्त्रीद्वयले दीप प्रज्ज्वलन र बिरुवामा पानी हालेर विशेष महाधिवेशन उद्घाटन गरेका हुन्। उद्घाटन समारोह कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भृकुटीमण्डपमा भइरहेको छ।

यो महाधिवेशनको नाम मात्र विशेष होइन, विशेष बनाएर टुंग्याउनुपर्छः गगन थापा 
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  विशेष महाधिवेशनलाई विशेष बनाएर टुंग्याउनुपर्ने बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले भने, ‘यो महाधिवेशनको नाम मात्र विशेष होइन, विशेष बनाएर टुंग्याउनुपर्छ।’  अहिलेको महाधिवेशन विचारको लडाइँ भएको उनको भनाइ छ। पार्टीका सदस्यहरूले आफ्नो हकको दाबी गरेर यो महाधिवेशन बोलाएको उनको भनाइ छ। उनले भने, ‘अब कसैले पनि पार्टीका सदस्यलाई हेप्न सक्दैन।’ 

कांग्रेसको विशेष महाधिवेशनको पहिलो दिन २६६२ प्रतिनिधिको नाम दर्ता 
काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन २६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेका छन्। दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट जारी विज्ञप्तिअनुसार आइतबार साँझसम्म २६६२ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।

रास्वपाका सहमहामन्त्री विपिन आचार्य प्रत्यक्षतर्फ चुनाव लड्ने, समानुपातिक सूचीबाट फिर्ता लिए नाम 
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन्। यसअघि उनको नाममा रास्वपाले समानुपातिक सूचीमा राखेको थियो।  समानुपातिक सूचीबाट नाम फिर्ता लिएर उनले प्रत्यक्षतर्फ चुनाव लड्ने निर्णय लिएको जानकारी दिएका छन्।  रास्वपाले समानुपातिकतर्फको अद्यावधिक सूची आइतबार आयोगमा बुझाइसकेको छ। 

रास्वपाले समानुपातिक बन्दसूची अद्यावधिक गर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची अद्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँगको एकता औपचारिक रूपमा टुंगिएपछि आइतबार निर्वाचन आयोगमा पुगेर सूची अद्यावधिक गरिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए। 

एकातिर देउवाको कार्यशैली, अर्कोतिर युवाको असन्तोष सामना गरिरहेको छु : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले पार्टीभित्र पुस्तान्तरणको अभियान धेरै अघिदेखि चलाउँदै आएको बताएका छन्। विशेष महाधिवेशन सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो लड्ने शैली शान्त र मधुरो रहेको बताए। 

जसपा नेपाल र लोसपा नेपालबिच एकीकरण
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच औपचारिक रूपमा एकीकरण भएको छ। दुवै दलबिच पौष १३ गते भएको एकीकरणसम्बन्धी सहमतिअनुसार एकीकरण प्रक्रिया अघि बढेको दुवै पार्टीले संयुक्त वक्तव्यमार्फत जानकारी दिएका छन्। 

ल्यान्डफिल साइट विवाद : खुकुरीसहित नियन्त्रणमा लिएका वडाध्यक्षलाई कास्की प्रहरीले कारबाहीविनै छाड्यो  
स्थानीयलाई खुकुरी प्रहार गर्ने क्रममा प्रहरीले रंगेहात नियन्त्रणमा लिएको पोखराका महानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले कारबाहीविनै छाडेको छ । पोखरा–३३ स्थित झाँक्री खोलामा ल्यान्डफिल साइट निर्माणका विषयमा भएको विवादको क्रममा सोही वडाका वडाध्यक्ष रामचन्द्र अधिकारीले वडामा भेला भएका स्थानीयलाई गत शुक्रबार खुकुरी प्रहार गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनास्थलबाट प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिए पनि कसैबाट उजुरी नआएको भन्दै छाडिदिएको हो ।  

हेर्दै गरेको चलचित्रको अभिनेताको मृत्युको खबर पाएपछि...
विराटनगरको सेन्ट्रल मलस्थित सिनेमा घरमा आइतबार चलचित्र ‘पहिचान’ को विशेष सो देखाइएको थियो । आइतबार बिहान ११ बजेको विशेष सो हेरिरहेका दर्शकहरूले चलचित्रका अभिनेता प्रशान्त तामाङको निधनको खबर पाएपछि मनोरञ्जन लिएर बसिरहन सकेनन् ।  उनीहरूले हलभित्रै एक मिनेट मौनधारण गरेर शोक प्रकट गरेका थिए । 

निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेको भिड (फोटो फिचर)
बाक्लो कुहिरोमा पनि आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिन युवायुवतीहरुको आवेदन दिन भिड लागेको छ । बाक्लो कुहिरामा जिल्लाका विभिन्न गाउँवाट युवायुवतीहरु निर्वाचन प्रहरी (म्यादी प्रहरी) मा आवेदन दिन आज विहानैदेखी सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय आएका छन् ।
 

सुझावित समाचार