उदयपुरमा नेपाली सेनाको पाँच दिने पदयात्रा सम्पन्न भएको छ । २३ पुसबाट उदयपुरको उदयपुरगढीबाट सुरु भएको पदयात्रा आज पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा चौदण्डीगढी पुगेर सम्पन्न भएको हो ।
सेनाको पशुपति प्रसाद गणको आयोजनाममा सुरु गरिएको उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्राको समेत औपचारिक समापन गरिएको थियो । इतिहास, संस्कृति र राष्ट्रिय एकताको सन्देश बोकेको उक्त पदयात्राले सहभागीहरूमा विशेष उत्साह थपेको थियो ।
समापन समारोहमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा पुष्पवृष्टिसमेत गरिएको थियो । साथै, झण्डोत्तोलन गरिएको थियो । चौदण्डीगढीस्थित ऐतिहासिक कालिकाविसासय मन्दिरबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली ब्याण्डबाजासहित गढी किल्ला पुगेर पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै हर्षबढाइ गरिएको थियो ।
कार्यक्रममा सहायक रथी बिमलकुमार बस्नेत, नगर प्रमुखद्वय बसन्त बस्नेत र कालुमान लामा, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, उदयपुरगाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर तथा रौतामाई गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले हरेक वर्ष नेपाली सेनाको पशुपति प्रसाद गणको आयोजनामा हुँदै आएको उदयपुरगढी–चौदण्डीगढी पदयात्राले प्राचीन गढी–किल्लाको ऐतिहासिक महत्व उजागर गर्नुका साथै पर्यावरणीय पर्यटनको प्रवर्द्धन र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए । यस पदयात्रालाई आगामी दिनमा अझ व्यवस्थित, बृहत्तर र राष्ट्रिय स्तरको बनाउँदै लैजानुपर्नेमा उनिहरूको जोड थियो ।