सिराहाको लहान नगरपालिका–१६ चुरे क्षेत्रमा पर्ने आरिदमार गाउँमा नौ दिनअघि जंगली हात्तीको आक्रमणबाट पीडित १० परिवारलाई नगरपालिकाले नगदसहित खाद्यान्न उपलब्ध गराएको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीले आइतबार आरिदमार गाउँका पीडित परिवारलाई राहतस्वरूप प्रतिपरिवार ५० किलो चामल, हात्तीले तोडफोड गरेको घर मर्मतका लागि नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । ‘चुरे क्षेत्रको बस्तीमा जंगली हात्तीको समूहले गरेको क्षतिको तुलनामा राहत सामग्री न्यून हो,’ उनले भने, ‘तर दुःखको समयमा स्थानीय सरकार नागरिकसँगै छ भन्ने अनुभूति दिलाउन सहयोग गरेको हो ।’
यसैबिच नगरपालिकाले एक सुत्केरी महिलासहित १५ वृद्धवृद्धालाई न्यानो सिरक पनि उपलब्ध गराएको छ । नगर प्रमुख चौधरीले लहान–१६ को विकट मानिने बरदमार, भसुवा खुलाले गाउँका ४५ वृद्धवृद्धा, असहायलाई पनि आजै एक–एक थान फाइबरको सिरक वितरण गरेका छन् ।
हात्तीको समूहले १८ र १९ पुसको राति १० घर तोडफोडसहित घरमा राखिएको अन्नपात, बारीको फलफूल खाइदिएको पीडित जालबहादुर थापा मगरले बताए । उनका अनुसार लगातार दुई रातसम्म हात्तीको समूहले बित्तण्डा मच्चाउन थालेपछि ११ दिने सुत्केरीसहित गाउँलेहरुले बस्ती नजिकैको आरिदमार जंगलमा आश्रय लिएर ज्यान जोगाएका थिए ।
लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरका अनुसार हात्तीको समूहले स्थानीय जालबहादुरसहित भुपाल नाम्जालीमगर, भक्तबहादुर मस्राङ्गी, रमित बलम्पाकी, सहबहादुर बलम्पाकी, सन्तोष गौतम, हरि थापा मगर, दुर्गबहादुर थापा, रामबहादुर थापा र लालबहादुर थापा मगरको घर तोडफोड गरी अन्नपात खानुका साथै करेसाबारीमा लगाएको तरकारी बाली नष्ट गरेको थियो ।