नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आत्मालोचना गर्दै देश बदल्ने संकल्प गरेका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले जिम्मेवार दल र नेताले आफ्ना कमजोरीको आत्मालोचना पनि गर्न सक्नुपर्ने बताए।
‘एउटा जिम्मेवार राजनीतिज्ञ, एउटा जिम्मेवार दल त्यो हुन्छ जसले आफूले गरेका कर्महरको श्रेय पनि लिन्छ र कमजोरीहरूको आत्मालोचना पनि गर्छ,’ उनले भने।
कांग्रेसले देशका लागि गरेका योगदानको फेहरिस्त पछि सुनाउने उल्लेख गर्दै उनले थपे, ‘यदि तपाईंहरूको मन कहीँ कुनै मोडमा हामी वा कसैबाट दुखेको छ भने हामी समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूको सामुन्ने क्षमा माग्न चाहन्छौँ। विनम्रतापूर्वक आत्मालोचना पनि गर्न चाहन्छौँ।’
कांग्रेस बदलेर देशलाई पनि बदलेर समुन्नतिको उचाइमा लैजाने महामन्त्री शर्माले संकल्प गरे। ‘हामी संकल्प गर्न चाहन्छौँ कि हामी नेपाली कांग्रेसलाई बदल्नेछौँ, हामी यो देशलाई बदल्नेछौँ। जो बदलिन सक्छ त्यसले बदल्न पनि सक्छ। हामी बदलिन पनि सक्छौँ र बदल्न पनि सक्छौँ।’