ट्राफिक प्रहरीले काट्ने जरिवानाको रसिद नै नक्कली बनाएर सवारी सञ्चालन गरेको आरोपमा रौतहट प्रहरीले दुईजना सवारीचालकलाई पक्राउ गरेको छ । नक्कली रसिद प्रयोग गरिएको यो घटना राजमार्ग क्षेत्रमा सम्भवतः पहिलो भएको प्रहरीले जनाएको छ ।
०८२ साल पुस २६ गते अन्दाजी साढे ७ बजेको समयमा अस्थायी ट्राफिक प्रहरी पोस्ट बागमती, रौतहटमा गरिएको संयुक्त चेकजाँचका क्रममा बा.प्र.०१–०२६ च ४८१७ नम्बरको बोलेरो सवारीसाधन शंकास्पद देखिएपछि रोकी जाँच गरिएको थियो ।
चेकजाँचका क्रममा चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटबाट जारी भएको भनिएको २४ घण्टे जरिवाना पुर्जी देखाएका थिए । तर, उक्त पुर्जीको प्रारम्भिक जाँच गर्दा फोटोसपमार्फत किर्ते गरी बनाइएको खुलेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा बोलेरो सवारीका चालकद्वय सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ४ निवासी २७ वर्षीय दिलीप महतो र सोही नगरपालिकाको वडा नम्बर १० निवासी ३२ वर्षीय ओमप्रकाश साहलाई नियन्त्रणमा लिई थप अनुसन्धानका भइरहेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले उनीहरूको म्याद थप हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानबाट ती दुवैजनाले ओभरलोड बोकेको आरोपमा जरिवाना तिरेको भन्दै नक्कली रसिद ट्राफिक प्रहरीलाई देखाएको खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले नक्कली रसिदमा उल्लेख गरिएको ट्राफिक प्रहरी भने तीन महिनाअगाडि नै उक्त स्थानबाट सरुवा भइसकेको जानकारी दिए । यस घटनालाई गम्भीर अपराधको रूपमा लिइएको र उनीहरूविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।