एनआरएनए अमेरिकाले भन्यो,-‘मन्त्री गुप्ताको विरोध गर्न खोजेका थिएनौँ, उहाँलाई परेको असरप्रति माफी चाहन्छौँ’

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका-सतेन्द्र शाह नेतृत्वको समूह—ले पछिल्लो विवादका कारण नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पर्न गएको प्रभावप्रति दुःख व्यक्त गर्दै औपचारिक क्षमायाचना गरेको छ।

संघले दोस्रो विज्ञप्ति जारी गर्दै मन्त्री गुप्ताको विरोध गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारेको छ। अनावश्यक विवादमा मन्त्रीलाई तानिएकोप्रति खेद प्रकट गर्दै, यसबाट उहाँको मान-मर्यादामा परेको असरप्रति माफी चाहेको संघले जनाएको छ। हाल अमेरिकामा एनआरएनए तीन फरक–फरक समूहमा विभाजित रहेको बताइन्छ। तीमध्ये सतेन्द्र शाह नेतृत्वको समूहले आफू आधिकारिक संस्था भएको दाबी गर्दै आएको छ। अर्कोतर्फ, विकास उप्रेती अध्यक्ष रहेको समूहको युवा विभागले अमेरिकामा आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई निमन्त्रणा गरेको थियो। सोही कार्यक्रममा सहभागी हुन मन्त्री गुप्ताले मन्त्रिपरिषद्बाट अमेरिका भ्रमणको स्वीकृति समेत लिइसकेका थिए। तर, उक्त निमन्त्रणालाई लिएर विवाद चुलियो। सतेन्द्र शाह नेतृत्वको एनआरएनएले मन्त्रीलाई औपचारिक निमन्त्रणा नगरिएको भन्दै पहिलो विज्ञप्ति जारी गरेपछि विषय सार्वजनिक बहसमा आयो। विवाद बढ्दै गएपछि मन्त्री गुप्ताले आफ्नो अमेरिका भ्रमण अन्ततः रद्द गरेका थिए।

यस घटनाक्रमपछि संघले दोस्रो विज्ञप्ति जारी गर्दै परिस्थिति स्पष्ट पार्ने प्रयास गरेको हो। विज्ञप्तिमा भनिएको छ, यस सिर्जित अवस्थाले माननीय मन्त्रीज्यूको मानमर्दन भएकोप्रति हामी दुःखी छौं। गैरआवासीय नेपाली संघ सधैं नेपाल सरकारसँग सहकार्य गर्दै आएको संस्था हो र युवा पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बन्नुभएका बब्लु गुप्ताप्रति हाम्रो सम्मान कायम छ।

संघले संस्थाको जानकारी र स्वीकृति बिना आयोजना गर्न खोजिएको कार्यक्रममा आधिकारिक लेटरप्याड र ईआईएन (आन्तरिक राजस्व नम्बर) प्रयोग भएको विषयमा आपत्ति जनाउनु स्वाभाविक भएको पनि स्पष्ट पारेको छ। यद्यपि, सो विरोधलाई मन्त्रीविरुद्धको कदमका रूपमा व्याख्या गरिएकोप्रति संघले असहमति जनाएको छ।

“अनावश्यक विवादमा मन्त्रीज्यूलाई मुछ्ने प्रयास भएकोप्रति हामी खेद प्रकट गर्दछौं। यस प्रक्रियाबाट उहाँलाई परेको असरप्रति हार्दिक माफी चाहन्छौं,” विज्ञप्तिमा उल्लेख छ। साथै, संघले भविष्यमा पनि नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ।
संघले अन्त्यमा पुनः चेतावनी दिँदै, आफ्नो आधिकारिक लेटरप्याड, ईआईएन लगायतका कागजातहरू अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

सुझावित समाचार