२७ र २८ पुसमा आयोजना हुने विशेष महाधिवेशनको तयारी कहाँ पुग्यो ?
२७ पुसमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनको तयारी जोडतोडले तीव्रस्तरमा भइरहेको छ । १७ पुसमा पार्टीको शीर्ष नेतृत्व उपस्थित नभएमा दुई महामन्त्रीबाट विशेष महाधिवेशन उद्घाटन हुनेछ । विशेष महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि बडो उत्साहसाथ काठमाडौं आइसक्नुभएको छ । कैयौँ साथी आइपुग्ने क्रम जारी नै छ । यो विशेष महाधिवेशन पार्टीको सुधार र रूपान्तरणका लागि एउटा विशेष कुम्भ मेला बन्नेछ ।
पार्टी नेतृत्वलाई पनि निम्तो दिनुभएको छ । उहाँहरूको उपस्थितिको सम्भावना कति देख्नुहुन्छ ?
विशेष महाधिवेशन पार्टीकै ठुलो कार्यक्रम हो । यस्तो महत्वपूर्ण कार्यक्रममा पार्टीको जिम्मेवार तहमा रहेका नेतृत्व सहभागी हुनैपर्ने हो । उहाँहरूलाई निम्तो पनि पठाइएको छ । त्यसैले, उद्घाटन कार्यक्रमसम्म उहाँहरू आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।
विशेष महाधिवेशनका नाममा कांग्रेस फुटको डिलमा पुगेको चर्चा चलिरहेको सुनिन्छ नि ?
विशेष महाधिवेशनले पार्टी फुट्छ भन्नु विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिलाई भड्काउने या भ्रमित गराउने प्रयास मात्र हो । पार्टी विधानको सर्वोपरिता र पार्टीको एकतालाई आधार मानेर आयोजना गरिएको यो विशेष महाधिवेशनले पार्टीलाई थप सशक्त र एकताबद्ध बनाउँछ । विधानको व्यवस्था पालना गर्दा कसरी पार्टी फुट्छ ? यो विशेष महाधिवेशन त पार्टीको सुधार, एकता र रूपान्तरणका लागि गरिएको सामूहिक प्रयास हो । सार्वभौम प्रतिनिधि उपस्थित हलले महाधिवेशनको कार्यविधि बनाउँछ । त्यसैअनुसार कता जाने, कसरी जाने र के गर्ने भन्ने निर्धारण हुन्छ । हलले गर्ने निर्णय नै अन्तिम हुनेछ । पार्टीका जिम्मेवार प्रतिनिधिले पार्टी फुटाउने निर्णय गर्छन् भनेर सोच्नु नै गलत हो ।