एमाले केन्द्रीय कमिटीमा ओलीको ‘ब्रिफिङ’- पपुलिस्ट पात्रले देशमा भयावह भूराजनीतिक जोखिम निम्त्याउन सक्छन्

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले सत्ताका लागि जे पनि सौदाबाजी गर्ने पपुलिस्ट पात्रहरूले देशमा भयावह भूराजनीतिक जोखिम निम्त्याउन सक्ने खतरा औँल्याएका छन् । शनिबारबाट जावलाखेलमा सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले भूराजनीतिक जोखिमको खतरा औँल्याएका हुन् । 

‘सत्तामा जान जस्तोसुकै भावना पनि बेच्ने र जस्तोसुकै सम्झौता गर्ने पपुलिस्ट पात्रहरूले हाम्रोजस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन् । यसैले यतिवेला राजनीतिक पार्टीहरूकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुन्छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘तर यतिवेला विचारविहीन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरूलाई चुनौती दिइरहेको अवस्था छ ।’

पपुलिजमले देश र समाजमा निम्त्याउने खतराहरूको विश्लेषण गर्दै ओलीले अहिले अवतारी नायक जन्मिएर जादूमयी समाधान हुन्छ भन्ने भ्रमको तुवाँलो फैल्याउने काम भइरहेको पनि उल्लेख गरेका छन् । ‘कुनै दिन कुनै अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरूले हेर्दाहेर्दै समस्याको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ,’ उनले भनेका छन् । 

जनतालाई भ्रममुक्त बनाउने महत्वपूर्ण काम नै अहिलेको मुख्य कार्यभार भएको ओलीले औँल्याएका छन् । ‘पपुलिजमले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र पपुलिजम सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंश । यही हो सिलसिला ! यसले थप समस्या जन्माउँदै जान्छ,’ उनले भने, ‘त्यसैले यतिवेला भदौ २४ को विध्वंशको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्यत र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिस्ट र पथभ्रष्ट तत्वबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ ।’ 

मुलुकमा लोकतन्त्र र संविधान संकटमा रहेको औंल्याउँदै उनले राष्ट्रिय एकता कमजोर हुँदै जाँदा बाह्य चलखेलको जोखिम बढेको र राष्ट्रिय हितको रक्षामा नयाँ चुनौती थपिएको पनि बताए । मुलुकमा केही पनि भएन भनेर जबर्जस्त सिर्जना गरिएको नकारात्मक भाष्य र युवाहरूमा निराशा र अन्योलले समाजमा भ्रम र द्विविधा रहेकाले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै ओलीले सबै लोकतान्त्रिक शक्तिलाई सहकार्यको आह्वान पनि गरे ।

बैठकका पाँच एजेन्डा 
एमालेको केन्द्रीय कमिटी बैठकमा पाँच एजेन्डा प्रस्तुत भएका छन् । महासचिव शंकर पोखरेलका अनुसार बैठममा अध्यक्षको सम्बोधन, पार्टी नियमावलीमा संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको आम्दानी–खर्चको जानकारी, महाधिवेशनयता दुईवटा सचिवालय बैठकका निर्णय अनुमोदन, महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र समसामायिक प्रस्ताव बैठकमा छलफलका लागि प्रस्तुत भएको छ । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका छन् ।

See More On

सुझावित समाचार