पूर्वी रुकुमबाट चुनावमा उठ्ने प्रचण्डको घोषणा

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् । शनिबार रुकुम पश्चिममा आयोजित नेकपाको एकता सभालाई सम्बोधन गर्दै उनले भने, ‘हुन सक्छ म आउने चुनाव रुकुमबाटै लड्न सक्छु, यही रुकुम भन्ने नठान्नु होला, पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, रुकुम पूर्वमा म आउने भनेको रुकुम पश्चिम पनि आउनु हो ।’ 

एकता सभामा ठुलो संख्यामा कार्यकर्ता उपस्थित भएकोप्रति उनले रुकुमका जनता पलायनको पछाडि नलागेको भन्दै धन्यवाद दिए । जनार्दन शर्माप्रति लक्षित गरी उनको पछाडि नलागेर मूल पार्टीलाई साथ दिएको भन्दै प्रचण्डले धन्यवाद दिएका हुन् । उनले विगतमा आफूलाई जनार्दन शर्माले रुकुम ल्याउने गरेको भन्दै अब झन् धेरै आफू रुकुम आउने बताए । ‘प्रभाकरको अभावमा पार्टी हेडक्वार्टरसँग सीधा सम्बन्ध हुँदैन कि भन्ने तपाईंहरूलाई लागेको छ भने त्यो भ्रममा नपर्न म अनुरोध गर्न चाहन्छु । तपाईंहरूका लागि पार्टी हेडक्वार्टरको ढोका काठमाडौंमा सधैँ खुला हुनेछ,’ उनले भने ।

रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको भन्दै आफूलाई रुकुमका जनमत खस्केको हो कि भन्ने कुरामा चिन्ता भएको पनि बताए । ‘यहाँको एकजना तपाईंहरूले अघि सारेको नेता पलायन भए, विचलित भएर गए । कहाँ गए भने कम्युनिस्ट र माक्र्सवाद छाड्नेतिर गए,’ उनले भने, ‘यसको पछाडि षड्यन्त्र छ । निकै ठुलो षड्यन्त्रअन्तर्गत ती मान्छेलाई बिचलित बनाइएको छ ।’

प्रचण्ड कालिकोट, कास्की ३, नुवाकोट १, सिन्धुली २, रामेछाप, महोत्तरी ४, गोरखा १, रोल्पा, कैलाली ३ बाट उम्मेदवार सिफारिस भएका छन् । कतै एकल र कतै उनीसहितको नाम केन्द्रमा सिफारिस भएर आएको छ । तर, अहिलेसम्म नेकपाले उनको निर्वाचन क्षेत्रबारे टुंगो लगाएको छैन । 

०८४ को निर्वाचनमा उनी गोरखा २ बाट विजयी भएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं १० र रोल्पाबाट उम्मेदवार बनेका थिए ।

See More On

सुझावित समाचार