प्रेरक प्रसंग : महान् मान्छेको खोजी

आइतबार, २७ पुष, २०८२
डिजिटल संस्करण

महान् विचारक कन्फ्युसियस चीनमा ठुला दार्शनिकका रूपमा परिचित थिए । चीनका सम्राट् पनि उनको धेरै आदर गर्थे । एक दिन चिनियाँ सम्राट्ले उनीसँग भने, ‘कन्फ्युसियस, मलाई त्यस्तो मानिस भएको ठाउँमा लैजाऊ, जो सबैभन्दा महान् छ ।’ सम्राट्को आदेश खस्न नपाउँदै कन्फ्युसियसले भने, ‘त्यस्तो महान् मान्छे त तपाईं आफैं हुनुहुन्छ, किनकि जसले सत्य थाहा पाउने इच्छा राख्छ ऊ नै महान् हो ।’

कन्फ्युसियसको जवाफ सुनेपछि एक छिन सोचेर सम्राट्ले भने, ‘तिमी मलाई मभन्दा पनि महान् मानिसको बारेमा भन ।’ सम्राट्को आदेश पाउनासाथ कन्फ्युसियसले भने, ‘तपाईंभन्दा महान् मानिस मै हुँ, किनकि म सत्यलाई पे्रम गर्छु ।’ सम्राट्ले फेरि भने, ‘त्यो त हो, तिमी मभन्दा त महान् छौ । तर, मलाई त तिमीभन्दा पनि महान् मानिस चाहियो ।’ सम्राट्को चाहना बुझेपछि कन्फ्युसियसले भने, ‘त्यसो भए ठिक छ, तपाईं मसँग हिँड्नुस् । म तपाईंलाई त्यस्तो मानिसकहाँ लिएर जान्छु, जो हामी सबैभन्दा धेरै महान् छन् ।’

त्यसपछि दुवैजना महान् मान्छेको खोजीमा हिँडे । एक ठाउँमा उनीहरूले एकजना वृद्ध मानिसले कुवा खनिरहेको देखे । दार्शनिक कन्फ्युसियसले भने, ‘सम्राट् ! हेर्नुस् त, यी व्यक्ति धेरै वृद्ध भइसकेका छन् । शरीर पनि धेरै दुर्बल छ र पनि कुवा खनिरहेका छन् ।’ सम्राट्ले त्यसको कारण जान्न खोजे । यति वृद्धावस्थामा पनि उनी किन यसरी सकी–नसकी कुवा खनिरहेका छन् त ?’ कन्फ्युसियसले जवाफ दिए, ‘उनी यो सब परोपकारका लागि गरिरहेका छन्, सम्राट् ! उनको आनन्दको अनुभूति परोपकारमा निहित छ । जो तनमन यस्तो आनन्दानुभूतिमा काम गर्छन्, अब यीभन्दा महान् को हुन सक्लान् र, होइन त सम्राट् ?’ सम्राट्लाई उनको तर्क चित्त बुझ्यो । उनले ती वृद्धलाई ठुलो सम्मान दिए ।

सुझावित समाचार