बाँकावीरलाई पहिलो सहिद घोषणा गर्न सुदूरपश्चिम सरोकार मञ्चको माग

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम सरोकार मञ्चले सुदूरपश्चिमका बाँकावीर बलदेवलाई पहिलो सहिद घोषणा गर्न माग गरेको छ । काठमाडौंमा आज आयोजित मञ्चको बैठकले जहाँनिया राणा शासनविरुद्ध लडेका बाँकावीरलाई पहिलो सहिद घोषणा गर्न पहल गरिदिन सरकारसँग माग गर्ने निर्णय गरेको हो । बाँकावीरलाई पछि पक्राउ गरेर हत्या गरेको थियो ।

मञ्चकाे कार्यक्रममा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र भण्डारीले नेपाल अहिले संक्रमणमा रहेको र त्यसलाई अवतरण गर्नुपर्ने प्रमुख प्राथमिकता रहेको बताएका थिए । जेन–जी आन्दोलनपछि मुलुकलाई संक्रमणबाट अवतरण गरी विकासको ढोका खोल्नुपर्ने उनको भनाइ थियो । उनले जनसरोकारका कुरा सुन्दै सरकारले प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । ‘अहिलेको मूल मुद्दा, थुप्रै समस्याको बिचमा प्राथमिकताको निर्धारण गरी मुलुकलाई संक्रमणबाट अवतरणमा लिएर जानुपर्नेछ,’ मन्त्री भण्डारीले भने, ‘त्यो अवतरणपछि रूपान्तरण र पुस्तान्तरण हुँदै विकासका ढोका खुल्छन् ।’ जनताका आवाज नसुन्दा संक्रमणको अवस्था आएको भण्डारीको भनाइ थियो । 

मन्त्री भण्डारीले जेन–जी आन्दोलनमा सबैभन्दा बढी सहिद भएको सुदूरपश्चिमबाट समयमै मन्त्री नभएको बताए । सुदूरपश्चिमको विकासका लागि आफूले सक्दो पहलकदमी लिने पनि उनले बताए ।  

सुदूरपश्चिम सरोकार मञ्चले कार्यक्रममा मन्त्री भण्डारी र एनपिएलको उपविजेता सुदूरपश्चिम रोयल्सलाई सम्मान गरेको थियो । सुदूरपश्चिम रोयल्सका तर्फबाट टिम म्यानेजर सुनिल थापाले सम्मान ग्रहण गरेका थिए । 

मञ्चले सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित संघसंस्था, सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नका लागि उपाध्यक्ष टीकाराम भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । 

सुझावित समाचार