राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीबिच भएकाे पार्टी एकीकरणसम्बन्धी ७ बुँदे सहमति भंग भएकाे छ। रास्वपाले केन्द्रीय सचिवालय बैठकमार्फत सहमति भंग भएकाे घाेषणा गर्दै छ। प्रवक्ता मनीष झाका अनुसार १४ पुसमा भएकाे सहमतिविपरीत उज्यालो नेपाल समूहका तर्फबाट बढी मागहरू राखिएपछि सहमति भंग हुन लागेकाे हाे।
उज्यालो नेपाल समूहका नेता जितराम लामाले पनि ७ बुँदे सहमतिअनुसार प्याकेजमा पूरक सहमति गर्न रास्वपा तयार नभएकाे बताए। उचित समायोजन नहुने कुरा उज्यालो नेपाललाई स्वीकार्य नभएकाे उनकाे भनाइ छ।
सुरुकाे सहमतिअनुसार उज्यालाे नेपाल समूहले पहिलाे वरीयताकाे उपसभापति, २१ केन्द्रीय सदस्य, १८ जना समानुपातिक उम्मेदवार पाउने सहमति भएकाे थियाे। तर, अहिले सचिवालयसहित सबै कमिटीमा ३० प्रतिशत हिस्सा, पार्टीको नाममा उज्यालो थप्नुपर्ने, बन्दसूचीमा ६ जना निर्वाचित हुने गरी राख्नुपर्नेलगायत माग राखेपछि समायोजन कठिन भएकाे रास्वपा नेता असिम शाहले बताए। 'मागहरू थपिँदै जाने, वार्तामाथि वार्ता हुँदै जाने कुराले लिंगरिङ मात्र भयाे।अब च्याप्टर क्लाेज नै हुने स्थितिमा वातावरण पुग्याे,' उनले भने। उज्यालो नेपाल समूह स्राेतका अनुसार कुलमान नेकपा, जनार्दन शर्माकाे प्रलाेपा, मधेशकेन्द्रित दलहरूसँग समानान्तर संवादमा छन्।