एमाले केन्द्रीय कमिटी बैठक : विधान परिमार्जनदेखि चुनावी रणनीतिसम्मका एजेन्डा

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा सुरु भएको छ। बिहान ११ बजेदेखि जारी बैठकमा पार्टीका संगठनात्मक तथा राजनीतिक एजेन्डामा व्यापक छलफल हुने बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले पछिल्लो समयका राजनीतिक घटनाक्रम, ती घटनामा एमालेको भूमिका, साथै आसन्न आम निर्वाचनको तयारी र रणनीतिबारे केन्द्रीय सदस्यहरूलाई स्पष्ट गर्ने कार्यसूची छ।

बैठकको मुख्य एजेन्डामध्ये पार्टी नियमावली संशोधनलाई महत्वपूर्ण विषयका रूपमा राखिएको छ। दोस्रो विधान महाधिवेशन (२०–२२ भदौ २०८२) र एघारौँ राष्ट्रिय महाधिवेशन (२७ मंसिर–३ पुस २०८२) बाट पारित विधान संशोधनका आधारमा नियमावलीमा आवश्यक परिमार्जन प्रस्ताव पेश गरी अनुमोदन गरिने छ।

यसै बैठकमा एघारौँ राष्ट्रिय महाधिवेशनको आम्दानी र खर्चसम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गरिने छ। पार्टीका अनुसार चितवनमा सम्पन्न महाधिवेशन अघिल्लो दशौँ महाधिवेशनको तुलनामा करिब तीन करोड रुपैयाँ कम खर्चमा सम्पन्न भएको थियो। आवास तथा यातायात खर्च नलागेकाले खर्च घट्न गएको पार्टीको निष्कर्ष छ।

त्यस्तै, पुस १२ र पुस २२, २०८२ मा बसेका केन्द्रीय सचिवालय बैठकका निर्णयहरू अनुमोदनका लागि पेश गरिने छन्। ती निर्णयहरू अन्तरपार्टी निर्देशन–१ मार्फत कार्यान्वयनमा आइसकेका छन्।

कार्यसूचीअनुसार एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि राखिएको छ। बैठकको अन्त्यमा समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा विविध प्रस्तावहरू प्रस्तुत गरी पारित गरिने एमालेले जनाएको छ।

सुझावित समाचार