कांग्रेस विशेष महाधिवेशनलाई लिएर जिल्ला सभापतिहरूको ध्रुवीकरण

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण
कांग्रेस विशेष महाधिवेशनलाई लिएर जिल्ला सभापतिहरूको ध्रुवीकरण

विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा तयारी हुँदै । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

  • विशेष महाधिवेशनलाई लिएर कांग्रेसका जिल्ला सभापतिहरू विभाजित, विशेष महाधिवेशनमा नजान प्रतिनिधिमाथि संस्थापन पक्षको दबाब

वैशाखमा नियमित महाधिवेशन कि २७–२८ पुसमा विशेष महाधिवेशन भन्ने विषय कांग्रेसको आन्तरिक शक्ति परीक्षणतर्फ प्रवेश गरेको छ । संस्थापन पक्ष र महामन्त्रीद्वयबिचका आ–आफ्ना तयारी, अडान र पार्टीभित्र प्रभाव विस्तार गर्ने प्रतिस्पर्धाले कांग्रेसभित्रको शक्ति परीक्षण चुनावपूर्व सहमतिसहित एकीकृत पार्टीमै टुंगिने हो कि विभाजनतर्फ धकेलिने हो भन्नेमा अनिश्चितता बढाएको छ ।

यहि  अनिश्चितताबिच विशेष महाधिवेशनलाई लिएर कांग्रेसका जिल्ला सभापतिहरू विभाजित भएका छन् । विशेष महाधिवेशनमा नजान प्रतिनिधिमाथि संस्थापन पक्षको दबाब बढेको छ ।

कोशीमा उदयपुर, धनकुटा र तेह्रथुमका सभापति पक्षमा, झापा विपक्षमा
१४ जिल्ला रहेको कोशी प्रदेशमा उदयपुर, धनकुटा र तेह्रथुमका जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । झापा सभापति भने विपक्षमा छन् । सभापतिहरू धनकुटाका दिनेश राई, उदयपुरका हिमाल कार्की, तेह्रथुमका अर्जुनबहादुर तुम्बाहाम्फेले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । पाँचथरका सभापति रूपनारायण जवेगू भने विशेष महाधिवेशनको विपक्षमा छन् । तर, उपसभापति डिकेन्द्र चेम्जोङ, बृजहाङ आङ्देम्बे, सचिव दीपक नेपाल र सहसचिव गजेन्द्र राईले विज्ञप्ति जारी गर्दै महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टी नेता तथा कार्यकर्तालाई विशेष महाधिवेशनमा सहभागी बन्न आग्रह गरेका हुन् । झापा सभापति देउकुमार थेपेले विज्ञप्ति जारी गर्दै पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य स्वत: समाप्त भएको जनाएका छन् । अन्य जिल्लाका सभापति भने खुलेका छैनन् ।

मधेशका जिल्ला सभापतिहरूको विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह
मधेश प्रदेशका आठवटै जिल्लाका कांग्रेस सभापतिहरूले पार्टी विधानविपरीत हुने कुनै पनि महाधिवेशन वा विशेष महाधिवेशनमा सहभागी नहुन सम्पूर्ण तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आग्रह गरेका छन् । आठै जिल्लाका सभापतिले आ–आफ्ना जिल्लाका पार्टी लेटरप्याडमा अलग–अलग प्रेस विज्ञप्ति जारी गर्दै पार्टी विधानविपरीत हुने गतिविधिमा सहभागिता जनाउन नहुने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा पार्टी विधानअनुसार ‘महाधिवेशन’ वा ‘विशेष महाधिवेशन’ बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्र निहित रहेको उल्लेख गरिएको छ । कुनै पनि पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा महाधिवेशन वा विशेष महाधिवेशनको नाममा कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु विधानविपरीत हुने भन्दै त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ । विज्ञप्तिमा जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यलाई पार्टीको निर्णय, नीति र अनुशासनको पालना गर्न आह्वान गरिएको छ । यसरी विज्ञप्ति जारी गर्नेमा सभापतिहरू महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव साह, सर्लाहीका डा. सरोजकुमार यादव, बाराका राजेश राय यादव, सिराहाका रामचन्द्र यादव, रौतहटका सुनीलकुमार यादव, पर्साका जनार्दनसिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियार छन् । 

कांग्रेस विधानअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबराबर २५ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ । सोही आधारमा मधेश प्रदेशमा रहेका ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट करिब आठ सय महाधिवेशन प्रतिनिधि छन् ।

पार्टी संस्थापन पक्षको दबाबका कारण मधेश प्रदेशका कुनै पनि जिल्लाका सभापति महाधिवेशनको पक्षमा खुलेर नआएको बताइन्छ । तर, महाधिवेशनको पक्षमा रहेका नेताहरूले मधेशका ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दाबी गरेका छन् । महाधिवेशनको पक्षमा रहेका नेताहरूले मधेश प्रदेशबाट कुल आठ सयमध्ये ४२० जना प्रतिनिधिले समर्थनमा हस्ताक्षर गरेको दाबी गरेका छन् । उनीहरूका अनुसार सप्तरीमा ४०, सिराहामा ५५, धनुषामा २५, महोत्तरीमा ५३, सर्लाहीमा ७१, रौतहटमा ७०, बारामा ७२ र पर्सामा ३४ जना विशेष महाधिवेशनको पक्षमा छन् । कांग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले मधेशका आठवटै जिल्लाका सभापति पार्टीको निर्णय र विधानसँगै रहेको दाबी गरेका छन् ।

बागमतीका चार जिल्ला सभापति विशेष महाधिवेशनको पक्षमा खुले, पाँच मौन
बागमतीका १३ मध्ये चार जिल्लाका कांग्रेस सभापति विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकका तीर्थ लामा, रसुवाका पेम्बा छिरिङ तामाङ र सिन्धुपाल्चोकका जंगबहादुर लामाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई आह्वान गरेका छन् । नुवाकोटका उपसभापति राजु थापाले पनि विशेष महाधिवेशनका लागि आह्वान गरेका छन्, तर सभापति रमेश महत भने संस्थापन पक्षतिर छन् । त्यस्तै, चितवन सभापति राजेश्वर खनालले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाविनाको विशेष महाधिवेशनमा सहभागी नहुने भन्दै विज्ञप्ति निकालेका छन् । सिन्धुली, रामेछाप, मकवानपुर, दोलखा, धादिङका जिल्ला सभापति भने यस विषयमा मौन देखिएका छन् ।

गण्डकीका तीन जिल्ला सभापतिको महाधिवेशनको पक्षमा अपिल 
आइतबारका लागि तय विशेष महाधिवेशनमा सहभागिताका लागि गण्डकीका ११ मध्ये तीन जिल्ला सभापतिले अपिल जारी गरेका छन् । कास्की, गोरखा र पर्वत जिल्लाले सार्वजनिक अपिल जारी गरेका हुन् । गण्डकीका ११ जिल्लामध्ये तनहुँका ५२ मध्ये २५, स्याङ्जाका ५२ मध्ये २६, लमजुङका २६ मध्ये २३, कास्कीमा ७८ मध्ये ४७, मनाङका २६ मध्ये चार, पर्वतका २६ मध्ये २०, बागलुङका ५२ मध्ये ३१, म्याग्दीका २६ मध्ये १३, नवलपुरका ५२ मध्ये ३६, मुस्ताङका २६ मध्ये तीन, गोरखाका ५२ मध्ये ४१ जनाले यसअघि नै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए । महाधिवेशनका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २६ जना चयन हुने प्रावधान छ । गण्डकीमा प्रतिनिधिसभाका १८ निर्वाचन क्षेत्र छन् ।

लुम्बिनीमा विशेष महाधिवेशनको पक्षमा बहुमत प्रतिनिधि सहभागी हुने दाबी
कांग्रेस विशेष महाधिवेशनमा लुम्बिनी प्रदेशबाट बहुमत प्रतिनिधिको सहभागिता हुने दाबी गरिएको छ । प्रदेशका १२ मध्ये आठ जिल्लाका सभापतिसहित बहुमत प्रतिनिधिको सहभागिता हुने कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले बताए । सभापतिहरू अर्घाखाँचीका अच्युत गौतम, गुल्मीका खिलध्वज पन्थी र पाल्पाका हिमालदत्त श्रेष्ठले विज्ञप्ति नै जारी गरेर सक्रिय सहभागिताका लागि अपिल गरेका छन् । यस्तै, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, बाँके, रोल्पा, रुकुम पूर्व र प्युठानका सभापतिसहितका बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता हुने पुनको दाबी छ । त्यस्तै, रुपन्देहीबाट चारजना क्षेत्रीय सभापतिसहितका प्रतिनिधिको सहभागिता हुनेछ । कपिलवस्तुबाट एकजना क्षेत्रीय सभापति, दाङबाट दुई र बर्दियाबाट एकजना क्षेत्रीय सभापतिसहितका महाधिवेशन प्रतिनिधिको सहभागिता हुने पनि प्रदेश सभापति पुनले बताए ।

पश्चिम नवलपरासीमा (५० जना महाधिवेशन प्रतिनिधिमध्ये) जिल्ला सभापति अर्जुनकुमार पोख्रेलसहित ६७ प्रतिशतले पक्षमा हस्ताक्षर गरेका थिए । जिल्ला सभापति बिरामी परेकाले महाधिवेशनमा जान सक्ने सम्भावना कम रहे पनि २९–३० जना महाधिवेशन प्रतिनिधि काठमाडौं जाने तयारीमा रहेको कांग्रेस जिल्ला प्रवक्ता राधेश्याम पाठकले बताए । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले भने पार्टीलाई बलियो बनाउन नियमित अधिवेशन उचित हुने बताए । 

कर्णालीमा १० मध्ये सल्यानका सभापति विशेष महाधिवेशनको पक्षमा
कर्णाली प्रदेशका १० मध्ये सल्यानका जिल्लाका सभापति केशवबहादुर विष्ट विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । उनले विशेष महाधिवेशनमा सहभागी हुन भन्दै विज्ञप्ति जारी गरेका छन् । यद्यपि, सल्यानका उपसभापति सन्तोष केसीले भने विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ति निकालेका छन् । शुक्रबार जिल्ला सभापतिहरू सुर्खेतका खड्गबहादुर पोखरेल, दैलेखका मणिराम रेग्मी, जाजरकोटका वेदराज सिंह, जुम्लाका कर्णबहादुर शाही, मुगुका ऐनबहादुर शाही, हुम्लाका मोहनविक्रम सिंह, रुकुम पश्चिमका प्रेमप्रकाश ओली र डोल्पाका (कार्यवाहक) लवकुमार शाहीले संयुक्त विज्ञप्ति निकालेर महाधिवेशनमा सहभागी नहुन भनेका छन् । त्यस्तै, कालीकोटका सभापति अम्मबहादुर शाहीले पनि छुट्टै विज्ञप्ति निकालेर आफू नियमित महाधिवेशनको पक्षमा रहेको बताएका छन् । 

सुदूरपश्चिमका ६ जिल्लाका सभापति विशेष महाधिवेशनको विपक्षमा
सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेसका नौमध्ये ६ जिल्लाका सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन् । जिल्ला सभापतिहरू बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, डडेल्धुराका भीमबहादुर साउद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी विशेष महाधिवेशनमा सहभागी नहुन महाधिवेशन प्रतिनिधिलाई अपिल गरेका हुन् । बाजुरा, बैतडी र दार्चुला जिल्ला सभापति भने संस्थापनइतर छन् ।  

सुदूरपश्चिमबाट ३५–४० प्रतिशतहाराहारी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने विशेष महाधिवेशन पक्षधरले दाबी गरेको छ । महाधिवेशनका लागि काठमाडौं पुगेका कांग्रेस कैलालीका नेता भीम बडुवालले सुदूरपश्चिमका जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधि काठमाडौं पुग्न थालेको बताए । ‘सुदूरपश्चिमबाट करिब ३४ प्रतिशतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए, सहभागी संख्या ४० प्रतिशत पुग्ने आकलन गरेका छौँ,’ उनले भने । प्रदेशभरि ४१६ जना महाधिवेशन प्रतिनिधि छन् । नेता बडुवालका अनुसार कैलालीका १२५ मध्ये ३५ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुँदै छन् । विशेष महाधिवेशन पक्षधर अर्का नेता लोकराज पाण्डेयले सुदूरपश्चिमका सबैजसो जिल्लाबाट महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका लागि गइरहेको बताए । ‘माहोल हेरेर पनि सहभागिता संख्या अझ बढ्छ,’ उनले भने ।

सुझावित समाचार