- उपत्यकाका १० नगरपालिकामा २३३ पोखरी छन् । कतिपय १६ सय वर्ष पुराना पनि छन् ।
भक्तपुरको दुधपाटीमा रहेको बसपार्क छेउछाउ पुग्ने धेरैको एउटा लक्ष्य हुन्छ । त्यहाँको सुन्दर पोखरीमा टहलिने, माछालाई खानेकुरा खुवाउने, सुन्दर पोखरीवरपरको वातावरणमा एकछिन भए पनि थकाइ बिसाउने । दुधपाटी मात्र होइन, भक्तपुर नगरपालिकाभित्रको ३८ वटै पोखरीमा पुगेर मानिसहरू घन्टौँ बिताएर फर्किन्छन् । ती पोखरीको १६०० वर्षसम्मको इतिहास पाइन्छ ।
१६०० वर्ष पुरानो सिद्धपोखरी (तव पुखु)
कुनैवेला करिब ३०० वर्षसम्म भक्तपुर नेपालको राजधानी थियो । त्यसैले, राजधानीको पूर्वाधारकै रूपमा पोखरी अनिवार्य रूपमा निर्माण भएको इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । ‘पोखरी नगरसभ्यताको प्रतीक थियो । पोखरी राजधानीको सौन्दर्यका लागि पनि नभई नहुने थियो । त्यसैले, शोभाको रूपमा मात्र नभई, वर्षभरि गरिने जात्रा चाडपर्वका लागि पनि पोखरीको महत्व धेरै थियो,’ उनले भने ।
भक्तपुरमा भएका धेरै पोखरीमध्ये सिद्धपोखरी (तव पुखु) सबैभन्दा पुरानो र ठुलो हो । यो पोखरी करिब १६०० वर्षअघि नै अस्तित्वमा आएको इतिहासविद् श्रेष्ठ बताउँछन् । २० वर्षअघि नै भक्तपुरका पोखरीबारे अनुसन्धान गरेका उनले यो पोखरी अस्तित्वमा आएको समयबारे केही प्रमाण भेटेका छन् । ‘भक्तपुरको सबैभन्दा पुरानो पोखरी सिद्धपोखरी लिच्छविकालतिरै बनेको थियो । पोखरीको पूर्वपट्टि खोपाहरू छन् । त्यहाँ वराहले पृथ्वी मातालाई उद्धार गरेको मूर्ति छ । त्यो लिच्छविकालीन मूर्ति हो । नेपाली साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलले वराहको त्यो मूर्तिलाई पाँचौँ शताब्दीको भएको बताएका थिए । त्यो समय भनेको करिब १६०० वर्षअघि हो,’ श्रेष्ठले भने ।
त्यही ठाउँमा एउटा शिलालेख पनि भेटिएको छ । तर, त्यो शिलालेख पढ्न सकिने अवस्थामा छैन । मूर्तिको शीर्ष भागमा केही बुट्टा छन्, त्यस आधारमा त्यो शिलालेख १२औँ शताब्दीतिरको भएको देखिन्छ । सिद्धपोखरीलाई पछि पर्खाल, पेटीसहित बनाउने काम नेपाल संवत् २४८ तिर इन्द्रदेव नामका युवराजले बनाउन लगाए । श्रेष्ठका अनुसार पोखरीको आसपासमा बौद्ध चैत्य पनि छ । पूर्वपट्टि शिवलिंग छ । यसले धार्मिक समन्वय र सांस्कृतिक एकता र सदभावको उदाहरण प्रस्तुत गरेको छ । त्यहीँ गुहेश्वरी पीठ छ । भक्तपुरका बज्राचार्य तान्त्रिक विधिद्वारा पूजाआजा गर्न अहिले पनि त्यहाँ जान्छन् । केही पहिलेसम्म स्थानीयले श्राद्धकर्म गर्दा त्यही पोखरीमा पिण्ड सेलाउने काम गर्थे ।
सिद्धपोखरीको नजिक रहेको भाजु पोखरी १२औँ शताब्दीमा बन्यो । त्यहाँ देवाली पूजा गर्न अझै स्थानीय जान्छन् । कालदह पुखु हेर्दा सानो तर धार्मिक, सांस्कृतिक जीवनसँग जोडिएको पोखरी हो । जनैपूर्णिमाको दिन पोखरीमा गएर स्नान गर्ने परम्परा छ । पोखरीलाई गोसाइँकुण्डको रूप मानिन्छ । विभिन्न प्रयोजनका लागि बनेका यी पोखरीको आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक, वातावरणीय महत्व छ । तर, वि.सं. १८२६ मा मल्ल राज्यको पतनपछि भने भक्तपुरमा यस्ता सम्पदा बेवास्तामा परे । ‘मल्ल राज्यको पतनपछि भक्तपुर सामान्य जिल्लाका रूपमा मात्र रह्यो । अरू वास्तु कृतिसँगै पोखरीको पनि संरक्षण हुन सकेन । यहाँको विकासमा पूर्णविराम नै लाग्यो भन्नुपर्छ,’ श्रेष्ठले भने, ‘करिब ४० वर्षअघि भएको सांस्कृतिक पुनर्जागरणपछि भने यहाँको पोखरीलगायत सम्पदा संरक्षणमा समुदाय जुटेका छन् । स्थानीय जनप्रतिनिधि आएपछि उनीहरूले पनि चासो देखाएका छन् । यसले इतिहास ब्युँताउने काम भएको छ ।’
यसकारण पोखरी महत्वपूर्ण
पोखरी कति महत्वपूर्ण छ भन्ने जानकारी हासिल गर्न काठमाडौं उपत्यकाको पानी प्रणालीबारे अध्ययन गरेका अध्येता तथा इन्जिनियर पद्मसुन्दर जोशीको ‘हिटी प्रणाली’ पुस्तक पढ्न उपयुक्त हुन्छ । उनले पुस्तकमा पोखरीको महत्व दर्साउन मध्यपुर थिमी नगरपालिकाअन्तर्गत बोडे नगरलाई बलियो उदाहरणका रूपमा पेस गरेका छन् । नगरमा बस्तीभित्र दुई र बस्तीबाहिर चारवटा पोखरी छन् । ‘पलेस्वाँ पुखु, खाँसी पुखु र द्योबुं पुखु बस्तीको उत्तरमा रहेको भिरालोको ठिक माथि छन्, जसले बस्तीलाई मनहराको भिरतिर भासिनबाट बचाउँछ । बस्तीबाहिर दक्षिणतिरको क्वय् पुखुले वर्षाको समयमा पानी संकलन गरी यसभन्दा दक्षिणको खेतलाई जोगाउने काम मात्र गर्दैन, वर्षापछि सिँचाइका लागि पानीसमेत उपलब्ध गराउँछ,’ उनले पुस्तकमा उल्लेख गरेका छन् ।
उनका अनुसार नेवा: सभ्यतामा सिरानका पोखरी, बस्तीबिचका पोखरी, बस्ती पुछारका पोखरी र फ्वती वा फ्वंगा थिए । चारै प्रकारका पोखरीको उत्तिकै महत्व भए पनि बस्तीबिचका पोखरीबारे जोड दिँदै उनले लेखेका छन्, ‘बस्तीबिचका पोखरीले एकातिर निकासका लागि बनाइने बर्खे ढलको आकार सानो बनाइरहेको र त्यसको मर्मत–सम्भारलाई सजिलो पारिरहेका हुन्छन् भने अर्कोतिर घरेलु उपयोगका कतिपय काम गर्न पानी उपलब्ध गराइरहेका हुन्छन् ।’
पोखरीलाई पर्यटनसँग जोड्दै
हिजोको अवस्थामा जुन प्रयोजनका लागि पोखरी निर्माण भयो, सोहीअनुसार प्रयोजनमा नआए पनि हाल नगरपालिकाले पोखरीलाई पर्यटनसँग जोडेर काम गरिरहेको छ । पोखरीलाई ऐतिहासिक सम्पदाको रूपमा अंगिकार गरेर नगरपालिकाले संरक्षण, संवद्र्धनको काम गरेको छ । करिब ४० वर्षअघिदेखि नै पोखरीको मर्मतसम्भार, संरक्षण हुँदै आए पनि संघीयतापछि आएको जनप्रतिनिधिले पनि पोखरीको मर्मलाई मनन गरेको हो । सोहीअनुसार पोखरीलाई पर्यटनसँग जोडेर आम्दानीसमेत गरिरहेको नगरपालिकाले जनाएको छ ।
भक्तपुर नगरपालिका प्रशासकीय अधिकृत दामोदर सुवालका अनुसार परम्परागत पानीका स्रोत इनार, ढुंगेधारा, पोखरी, कुवा पुरानो नेवार सभ्यता हो । ‘ऐतिहासिककालमा भक्तपुरका बासिन्दाको दैनिक आवश्यकता जस्तै– घरायसी आवश्यकता, कृषि आवश्यकता, पशुपालनसम्बन्धी आवश्यकता पूरा गर्न र नगरको वातावरणको र पर्यावरणलाई सन्तुलनमा राख्न नगरभरि विभिन्न आकार र क्षेत्रफलका पोखरी निर्माण भएका छन्,’ उनले भने, ‘ती संरचनाको धेरै पहिलेदेखि समुदायले आफ्नो हित, धर्म, संस्कृति परम्परासँग जोडेर मर्मत सम्भार र संरक्षण गर्दै आएको छ । पछिल्लो जनप्रतिनिधि आएपछि सांस्कृतिक पर्यटनसँग जोडेर जनचेतना फैलाउने र पर्यटन उद्योगसँग जोडेर विभिन्न गतिविधि गर्ने प्रयास भएका छन् ।’
नगरपालिकाभित्र रहेका सिद्धपोखरी, रानीपोखरी, कलविनायक पोखरीलगायगत आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु भएको छ । ती पोखरी संरक्षणका लागि नगरपालिकाले दर्जनौँ जनशक्तिको समेत व्यवस्था गरेको छ । पोखरी नै हेर्नका लागि आउने पर्यटकको यकिन तथ्यांक नभए पनि इतिहास, संस्कृति, जीवनशैली, मौलिक सांस्कृतिक पर्यटनको आधार भएकाले यस्ता परम्परागत पानीका स्रोत पर्यटकको अध्ययन र आकर्षणको केन्द्र भएको छ ।
सुवालले भने, ‘केही पोखरी भक्तपुर विकास परियोजना भनेर ८० को दशकमा पश्चिम जर्मन सरकारको सहयोगमा जिर्णोद्धार भयो । केही पोखरीको परम्परागत शैलीमा जिर्णोद्धार नगरी ढलान गरियो, जसमा पानी अडेन । अहिले त्यहाँ पानी अडिने बनाउने काम भइरहेको छ । कति ठाउँमा पोखरी चुहिने, भत्किने, टालिने भएकाले त्यसमा पनि आवश्यकताअनुसार मर्मत–सम्भार, जीर्णोद्धारको काम हुँदै आएको छ ।’ नगरपालिकाका अनुसार पोखरीलाई सौन्दर्यीकरण गर्न माछा पाल्ने, फोहोरा हाल्ने, पर्खाल लगाउने, बत्तीको व्यवस्था गर्ने, गमला राखेर फूल रोप्नेलगायत काम भइरहेका छन् । रानीपोखरी, सिद्धपोखरी, भाजुपोखरी, कमलविनायक पोखरीमा माछापालन गरेर आम्दानी गर्नेसमेत काम भएको छ ।
काठमाडौं उपत्यका खानेपानी विकास बोर्डका अनुसार उपत्यकाका १० नगरपालिकामा भएका पोखरीको संख्या दुई सय ३३ छन् । सबैभन्दा धेरै ललितपुर नगरपालिकामा ६५ पोखरी छन् । काठमाडौं महानगरपालिकामा १५, भक्तपुर नगरपालिकामा ३८, मध्यपुर थिमी नगरपालिकामा २०, कीर्तिपुर नगरपालिकामा १०, महालक्ष्मीमा २०, गोदावरी नगरपालिकामा २८, चन्द्रागिरि नगरपालिकामा २०, शंखरापुर नगरपालिकामा १० र टोखा नगरपालिकामा सात पोखरी रहेका छन् । भक्तुपरका ५० पोखरीमध्ये हाल ३८ मात्र अस्तित्वमा रहेका छन् । बाँकी १२ विभिन्न कारणले हराएका छन् । नगरपालिकाका अनुसार तत्कालीन आवश्यकता पूरा गर्न र सुरक्षाका दृष्टिले पोखरी पुरेर संरचना निर्माण भएका ठाउँको पोखरी हराएका हुन् ।
तस्बिर : दिपेन्द्र ढुंगाना