अंग्रेजी वर्ष २०२५ समाप्त भई नयाँ वर्ष २०२६ सुरु भइसकेको छ । अन्य वर्षमा झैँ यो वर्ष पनि विभिन्न आरोह–अवरोह, विज्ञानमा महत्वपूर्ण आविष्कार, राजनीतिमा उथलपुथल, एआईमा चामत्कारिक विकास, खेल, मनोरञ्जन तथा ग्ल्यामरको दुनियाँमा अभूतपूर्व घटना भए । कतिपय घटना अघिल्लो वर्षझैँ दोहोरिए ।सन् २०२२ फेब्रुअरी २४ मा सुरु भएको युक्रेन–रुस युद्ध यो वर्ष पनि जारी रह्यो । युद्ध रोक्ने अन्तर्राष्ट्रिय पहलबिच युद्धमा थप मानिस ज्यान गुमाउन बाध्य भए । तर, वर्ष २०२५ ले प्रमुख सशस्त्र द्वन्द्वको एउटा नयाँ शृंखला देख्यो, जुन वर्षका महत्वपूर्ण घटनामध्येको एक प्रमुख घटनामा दर्ज भएको छ । युद्धले क्षेत्रीय सुरक्षा गतिशीलतालाई पुन: आकार दियो र विश्वभर कूटनीतिक ढाँचाको परीक्षण गर्यो । आणविक हतियारधारी छिमेकीबिचको द्वन्द्व आमनेसामने स्थितिको विन्दुदेखि द्रुत गतिमा बढ्दै गएको सीमापार युद्धमा रुपान्तरण भयो । विभिन्न देशमा भएका नयाँ द्वन्द्वमा अमेरिका पनि हतारमा प्रवेश गर्यो भने केही युद्धलाई मत्थर पारेको जस लियो । केही देशमा लामो समयदेखि चलिरहेको विद्रोह खुला युद्धमा परिणत भएसँगै यी पाँच द्वन्द्वले वर्षको केही महत्वपूर्ण सैन्य टकरावलाई प्रकट गरे :
भारत–पाक संकट (मे ७–१०)
मे २०२५ को सुरुमा भारत र पाकिस्तानबिचको तनाव तीव्र गतिमा बढ्यो, जब भारतले मे ७ मा पाकिस्तानी भूमिमा एकतर्फी हमला गर्यो । लामो समय शीतयुद्धमा रहेका दुई देशबिच सीमामा आमनेसामने हुने गरेका घटना नौला थिएनन् । तर, आरोप–प्रत्यारोप र तुसका बिच भारतले सुरुवाती कारबाही गर्यो । जम्मु र कस्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको बदला लिन अप्रेसन सिन्दुरअन्तर्गत भारतले मिसाइल आक्रमण गर्यो । हमलामा २६ सर्वसाधारणको ज्यान गयो । आक्रमणले बहावलपुरमा रहेको जैस–ए–मोहम्मदको सुविधा र मुरिदकेमा रहेको लस्कर–ए–तोयबाको पूर्वाधारलाई लक्षित गर्यो, जुन पाकिस्तानभित्र पर्छ ।
पाकिस्तानले पनि जवाफी कारबाही गर्यो । सैन्य आदानप्रदान चार दिनसम्म चल्यो र मे १० मा युद्धविराम भयो । पहुँच र सैन्य प्रणालीका हिसाबले अघिल्लो सीमा पार गर्दै बल्झिएको द्वन्द्व अन्तत: छोटो कूटनीतिक पहलमा साम्य भयो । युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहल गरेको दाबी गरे्, यद्यपि भारतले यसलाई अस्वीकार गर्दै आएको छ ।
इजरायल–इरान युद्ध (जुन १३–२४)
सन् २०२५ को जुन १३ मा इजरायलले इरानविरुद्ध व्यापक सैन्य कारबाही सुरु गर्यो । उसले तेहरानका आणविक सुविधा, सैन्य प्रतिष्ठान र शासनसँग सम्बन्धित पूर्वाधारमा घातक प्रहार गर्यो । इजरायल र इरान–सम्बद्ध अतिवादी समूहबिचको लगभग दुई वर्षको शत्रुतापछि यो आक्रमण भयो । सन् २०२४ मा इजरायल–इरान टकरावपछि पहिलोपटक यो द्वन्द्व भयो ।
द्वन्द्व तीव्र हुँदै जाँदा संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित गर्दै तेस्रो पक्षको रूपमा लडाइँमा प्रवेश गर्यो । यसले द्वन्द्वमा नयाँ मोड लिनुका साथै द्वन्द्वमा घिउ थप्यो । स्वाभाविक रूपमा अमेरिकी आक्रमणलाई निस्तेज गर्ने क्षमता तेहरानसँग थिएन । वासिंटनको दबाबबिच जुन २४ मा युद्धविरामको घोषणासँगै अन्तत: बाह्र दिनको लडाइँ समाप्त भयो । यद्यपि, प्रारम्भिक युद्धविराम उल्लंघनले इरान र इजरायल दुवैमा मानवीय क्षति भयो । तर, निरन्तरको अमेरिकी दबाबपछि युद्धविराम कायम रह्यो ।
थाइल्यान्ड–कम्बोडिया सीमा द्वन्द्व (जुलाई २४–२८ )
जुलाई २४, २०२५ मा थाइल्यान्ड र कम्बोडियाको सीमामा सशस्त्र झडप सुरु भयो, जुन दश वर्षभन्दा बढी समयपछि दुई देशबिचकोे सबैभन्दा हिंसात्मक द्वन्द्व हो । यो झडप प्रेह विहार र ता मुएन थोमलगायत प्राचीन मन्दिरपरिसर र अस्पष्ट औपनिवेशिक युगको सीमांकनबाट प्रभावित क्षेत्रमा लामो समयदेखि चलिरहेको विवादको बिउसँगै उत्पन्न भएको थियो । जुलाई २७ सम्ममा लडाइँ कम्तीमा १२ स्थानमा फैलिएको थियो, जसका कारण कम्तीमा ३८ जनाको मृत्यु भयो । युद्धमा दुवै देशका गरी तीन लाखभन्दा बढी नागरिक विस्थापित भए । मलेसियाको अध्यक्षतामा बसेको आसियान बैठकले तत्काल युद्धविरामको आह्वान गर्यो । त्यस्तै, उक्त युद्धलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आपत्कालीन बैठकसमेत बोलायो । मलेसियाको मध्यस्थता र अमेरिका र चीनको कूटनीतिक समर्थनपछि जुलाई २८ मा क्वालालम्पुरमा भएको वार्तामा दुवै पक्षले तत्काल र नि:सर्त युद्धविराममा सहमति जनाए ।
अफगानिस्तान–पाकिस्तान तनाव (अक्टोबर ९)
अफगानिस्तान र पाकिस्तानबिचको पछिल्लो तनाव अक्टोबर ९, २०२५ मा पाकिस्तानले काबुलमा तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) का नेता नुर अली मेहसुदलाई लक्षित गरी हवाई आक्रमण गरेपछि सुरु भएको थियो । एक दिनअघि खैबर पख्तुनख्वामा पाकिस्तानी सेनामाथि टिटिपीको आक्रमणपछि यो हमला भएको थियो ।
अफगानिस्तानले केही दिनपछि बदलापूर्ण कारबाही गर्यो, जसमा कम्तीमा २३ पाकिस्तानी सैनिक मारिए । उक्त आक्रमणमा कम्तीमा नौ अफगानी सेनाको पनि मृत्यु भएको रिपोर्ट गरिएको थियो । दुवै पक्षले योभन्दा बढी क्षतिको दाबी गरे । जमिनमा भएको छिटपुट भिडन्तले व्यापक सैन्य वृद्धिको चिन्ता बढायो । इस्लामाबादले काबुललाई अफगान क्षेत्रबाट टिटिपीलाई सञ्चालन गर्न अनुमति दिएको आरोप लगायो, जसलाई अफगान अधिकारीले ठाडै अस्वीकार गरे । पछि शान्ति वार्ता तनाव समाधान गर्न असफल भयो, यद्यपि दुवै देश कमजोर युद्धविराम कायम राख्न सहमत भए । दुई देशको सीमामा अहिले पनि छिटफुट तनावका घटना भएका छन् र झडपलाई भारतले गम्भीर चासोका साथ हेरेको छ ।
डिआरसी–रुवान्डा द्वन्द्व (जनवरी २३)
जनवरी २०२५ मै पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोमा द्वन्द्व तीव्र भयो, जब रुवान्डा सेनाको समर्थनमा २३ विद्रोहीले डिआरसीको उत्तरी किभु प्रान्तको राजधानी तथा देशको पूर्वी मुख्य सहर गोमामा आक्रमण सुरु गरे । जनवरी २३ तिर सुरु भएको यो आक्रमण जनवरी २७ मा गोमा कब्जामा परिणत भयो । महिनाको अन्त्यसम्म लडाइँ जारी रह्यो ।
गोमाको पतनले २०१२ पछि किभु द्वन्द्वमा सबैभन्दा महत्वपूर्ण सैन्य वृद्धिलाई संकेत गर्यो । यस क्षेत्रको अस्थिरता लामो समयदेखि चलिरहेको जातीय तनाव र कोल्टन, टिन र सुनलगायत खनिज सम्पत्तिमाथिको प्रतिस्पर्धामा जरा गाडेको छ । डिआरसी र रुवान्डाबिच अमेरिकी मध्यस्थतामा शान्ति सम्झौता जुनमा हस्ताक्षर गरिएको थियो । पछि डिसेम्बर ४, २०२५ मा वासिंटनमा दुवै राष्ट्रपतिले औपचारिकता दिएका भए पनि सम्झौता लडाइँ रोक्न असफल भयो । एम २३ सेनाले ठुला क्षेत्रहरूको नियन्त्रण कायम राख्यो र सम्झौतामा हस्ताक्षर भएको केही समयपछि कंगोली र सहयोगी बुरुन्डियन सेनासँग झडप जारी रह्यो । यहाँ अहिले पनि छिटपुट द्वन्द्व भइरहेको छ र युद्धविरामको अन्तर्राष्ट्रिय प्रयास पनि जारी छ ।
(एजेन्सीको सहयोगमा)