आइसिसीलाई बंगलादेशको जवाफ- ‘राष्ट्रभन्दा विश्वकप ठुलो होइन’

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

आइसिसी पुरुष टी–२० विश्वकपअघि भारत र बंगलादेशबिचको विवाद असहज स्थितिमा पुगेको छ । आफ्ना खेलाडी भारतमा सुरक्षित नभएको जनाउँदै बंगलादेश क्रिकेट बोर्डले सबै खेल श्रीलंकामा सार्न आइसिसीसमक्ष अनुरोध गरेको थियो । आइसिसीले भारतमै खेल्नुपर्ने र त्यहाँ नजाँदा दुई अंक गुमाउनुपर्ने चेतावनी बंगलादेशलाई दिएको छ । बंगलादेश भने आफ्नो अडानबाट पछि नहट्ने अवस्थामा छ । 

अर्को महिना भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका खेल आफ्नो टोलीले भारतीय भूमिमै खेल्नुपर्ने स्थिति सिर्जना भए प्रतियोगिता नै बहिष्कार गर्ने उल्टै चेतावनी बंगलादेशले दिएको छ । बंगलादेश क्रिकेट बोर्डले राष्ट्रभन्दा अन्य कुनै पनि ठुलो हुन नसक्ने जनाएको छ । ‘पहिला रष्ट्रिय स्वाभिमान हो । त्यसपछि मात्र अन्य पक्ष हेरिन्छ । अहिले हाम्रो नजरमा राष्ट्रको अगाडि विश्वकप केही पनि होइन,’ बंगलादेशले भनेको छ । 

बंगलादेशले आइसिसीलाई यस्तो प्रत्युत्तर दिएपछि विवाद थप चर्किएको छ । बंगलादेशको पछिल्लो भनाइप्रति आइसिसीले केही प्रतिक्रिया सार्वजनिक गरेको छैन । आइसिसीले विश्वकपको खेलतालिकामा परिवर्तन नगर्ने भनेपछि बंगलादेशले पनि कठोर निर्णय लिने तयारी गरेको एजेन्सीले जनाएको छ । यसैबिच बंगलादेश सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुले पनि राष्ट्रिय खेलाडीलाई सुरक्षित बनाउनु नै आफूहरूको पहिलो कर्तव्य भएको बताए । ‘विश्वकपमा छनोट हुन निकै मिहिनेत गर्यौँ । हामी विश्वकप गुमाउन चाहँदैनाैँ, तर देशको सुरक्षा, इज्जत र सम्मानभन्दा विश्वकप कुनै पनि हालतमा ठुलो हुन सक्दैन ।’ 

भारत र बंगलादेशबिच पछिल्लो राजनीतिक विवादले क्रिकेटमा प्रभाव पारेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) टोली कोलकाता नाइट राइडर्सले बंगलादेशका बलर मुस्तफिजुर रहमानलाई हटाएपछि विवाद सुरु भएको हो । कोलकाताले रहमानलाई अक्सनमा नौ करोड २० लाख भारुमा किनेको थियो ।

See More On

सुझावित समाचार