चुनाव नभए देश द्वन्द्वतर्फ जान सक्छ : गृहमन्त्री अर्याल

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनका लागि तोकिएको निर्वाचन कुनै पनि हालतमा तलमाथि हुन नहुने र सो मितिमा चुनाव नभए देश पुन: द्वन्द्वतर्फ जान सक्ने बताएका छन् । ‘चुनावबाट फर्किने ठाउँ नै छैन । अब निर्वाचन भएन भने उत्पन्न हुन सक्ने द्वन्द्व थेग्नै नसक्ने अवस्था आउन सक्छ,’ बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले भने । 

जेन–जी जनआन्दोलनपछि द्वन्द्व दोहोरिन नदिनु नै वर्तमान सरकारको सबैभन्दा ठुलो उपलब्धि भएको उनको दाबी छ । शान्ति–सुरक्षाको अवस्था सामान्य भइसकेको र निर्वाचनमार्फत संवैधानिक व्यवस्था पुनर्वहालीतर्फ सरकार अघि बढेको उनले बताए । ‘भदौ २३ र २४ को जेन–जी जनआन्दोलनपछि द्वन्द्व दोहोरिन दिएनौँ, यो सरकारको ठुलो सफलता हो,’ उनले भने, ‘राज्यविहीनताको अवस्थाबाट देशलाई सामान्यीकरण गर्दै कानुनी राज्यको पूर्ण पुनर्वहाली भएको छ । अब निर्वाचनमार्फत संवैधानिक व्यवस्थाको सामान्यीकरण गरिन्छ ।’

सुशासन र निर्वाचन सरकारको मुख्य म्यान्डेट रहेको भन्दै उनले जेन–जी जनआन्दोलनको म्यान्डेटलाई बिर्सियो भने द्वन्द्व दोहोरिन सक्नेतर्फ सचेत गराए । ‘सरकारले नागरिकको विश्वास गुमायो भने असाधारण अवस्था सिर्जना हुन सक्छ,’ उनले भने, ‘सरकार सधैँ नागरिकसँग जोडिएर काम गर्नुपर्छ भन्ने सन्देश जेन–जी आन्दोलनले दिएको छ । जेन–जी पुस्तासँग संवाद गर्दै उनीहरूको आवाज सुन्नु जरुरी छ ।’ 

बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनका लागि डर र त्रास नभएको, तर राजनीतिक वातावरण अझै बनिनसकेको बताएका थिए ।

सुझावित समाचार