चार नेपाली फिल्मकर्मी बर्लिनाले ट्यालेन्टमा छनोट

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

विश्वप्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन्। १२० देशबाट परेका तीन हजार ४३८ आवेदनबाट छानिएका दुई सय ट्यालेन्टमा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमा गेलु शेर्पा र रिना मोक्तान छनोट भएका हुन्।

फेब्रुअरी १२ देखि जर्मनीको बर्लिनमा आयोजना हुने यो फेस्टिभलअन्तर्गतको प्लाटफर्ममा फिल्म क्षेत्रका विभिन्न १५ क्षेत्र प्रतिनिधित्त्व गर्ने प्रतिभालाई छानिएको विज्ञप्तिमा उल्लेख छ। प्लाटफर्मले सम्बन्धित विधामा वर्कसप, अन्तर्क्रिया र नेटवर्किङ गराउने गर्छ। विश्वका फिल्मकर्मीलाई जोड्ने, सिर्जनशील काममा सहकार्य गराउने यो प्लाटफर्मको यो वर्षको नारा ‘क्रियटिङ (एन्ड) कन्फ्युजन–सिनेमा, केयस एन्ड द पावर’ हो। गत वर्ष सुशान्त श्रेष्ठ र सुशन प्रजापति यो प्लाटफर्ममा छनोट भएका थिए।

यो वर्ष ‘प्रड्युसिङ’तर्फ रामकृष्ण पोख्रेल छनोट भएका हुन्। रामकृष्णले थुप्रै विदेशी फिल्म निर्माण गरेका छन्। रामकृष्णको आइसफल प्रोडक्सनले अहिलेसम्म थुप्रै विदेशी फिल्म, नेपाली लघुफिल्म, फिचर फिल्म निर्माण गरिसकेको छ। रोट्रड्याममा छनोट भएको ‘अनहद’ र ‘बाघथान’ उनैले निर्माण गरेका हुन्। अस्कर क्वालिफाइड ‘द साइलेन्ट इको’लाई पनि आइसफलले नै निर्माण गरेको हो। अविनाशविक्रम शाह निर्देशित तटिनी (बुसान)लाई पनि उनले नै निर्माण गरेका हुन्। नेपाली फिचरतर्फ ‘कथा ७२’, ‘द रेड फालोस’, ‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि आइसफलले नै निर्माण गरेको हो। अन्तर्राष्ट्रियतर्फ एमी अवार्ड जितेको ‘अ माउन्टेन टु क्लाइम्ब’, ‘हाइवे टु धम्पुस’ (फ्रेन्च), ‘द क्लाइम्ब’ (नेटफ्लिक्स), ‘एभरेस्ट समिट अफ द गड्स’ (जापान), लियाम निसेनको ‘आइस रोड’लाई पनि रामकृष्णकै प्रोडक्सन कम्पनीले निर्माण गरेको हो।

जानकी कडायत भने कस्ट्युम डिजाइनतर्फ छनोट भएकी हुन्। बर्लिनले पहिलोपटक घोषणा गरेको यो शीर्षकअन्तर्गतको ट्यालेन्टमा छनोट हुने उनी पहिलो नेपाली हुन्। १५ वर्षदेखि कस्ट्युम डिजाइनरको रूपमा फिल्ममा काम गर्दै आएकी जानकीले ‘ऐना झ्यालको पुतली’, ‘सिंहदरबार २’, ‘राजागन्ज’, ‘सेप अफ मोमो’, ‘हरिबहादुरको जुत्ता’, ‘महापुरुष’, ‘माइतीघर’, ‘महाजात्रा’लगायतका फिल्ममा काम गरिसकिन्।

काठमाडौं विश्वविद्यालयमा तीन वर्षदेखि फिल्म पढाउँदै आएका निमा गेलु शेर्पा भने यो प्लाटफर्ममा दोस्रोपटक छानिएका हुन्। यसअघि निर्देशन (२०२३)मा छनोट भएका उनी योपटक आफ्नो निर्माणाधीन डकुमेन्ट्रीमार्फत ‘डक स्टेसन’मा छनोट भएका हुन्। ‘टेन्थ सिटी एन्ड आई’शीर्षकको फिचर डकुमेन्ट्रीमार्फत उनी ट्यालेन्टमा छानिएका हुन्। सगरमाथा आधार शिविरमा पुग्ने पात्रहरूलाई उनी यो डकुमेन्ट्रीमा समेट्दै छन्। उनी केयूमा फिल्मसम्बन्धी विषय पढाउँछन्। उनी निर्देशित लघु फिल्म ‘एज डे गोज बाई (२०२४)’ स्वीडेनको उपसला फिल्म महोत्सवमा प्रिमियर भएको थियो।

यो वर्ष ‘क्रिटिक’तर्फ कान्तिपुरकर्मी रिना मोक्तान छनोट भएकी हुन्। ६ वर्षदेखि कान्तिपुरमा फिल्म, थिएटर र संगीतमा कलम चलाउँदै आएकी मोक्तान फिल्म समीक्षक समाजकी महिला उपाध्यक्ष हुन्।

सुझावित समाचार