पोखरा ल्यान्डफिलसाइट विवाद : वडावासीलाई खुकुरी देखाएपछि वडाध्यक्ष पक्राउ

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

ल्यान्डफिलसाइट निर्माणको विषयलाई लिएर पोखरामा विवाद चर्किएको छ। पोखरा महानगरपालिकाले ३३ नम्बर वडास्थित झाँक्री खोलामा ल्यान्डफिलसाइट निर्माण गर्ने भनेपछि विगत दुई वर्षदेखि स्थानीयले त्यसको विरोध गर्दै आएका छन्।

ल्यान्डफिलसाइट निर्माणको काम महानगरले अगाडि बढाउने तयारी गरेपछि त्यसको विरोधमा स्थानीयले शुक्रबार पोखरा– ३३ को वडा कार्यालयमा तालाबन्दी गर्न जाँदा वडाध्यक्ष डा. रामचन्द्र अधिकारीले उनीहरूलाई खुकुरी देखाएपछि विवाद झनै चर्केको छ।

शुक्रबार बिहान वडा कार्यालयमा स्थानीयहरू ल्यान्डफिलसाइटको विषयमा बुझ्न गएका थिए। त्यसपछि वडाध्ययक्ष अधिकारीले आफू स्थानीयको साथमा रहेको भनेपछि गएका स्थानीयहरू फर्किए। लगत्तै उनले स्थानीयको साथ र हितमा आफू रहेको भन्दै फेसबुकमा लेखेका थिए, ‘...तपाईंहरूको निर्णय नै मेरो निर्णय हुनेछ।’

तर, त्यसको केही समयपछि पुनः आएर स्थानीयले वडामा नाराबाजी गर्न सुरु गरेपछि गाडी चढेर आएका वडाध्यक्षसँग विवाद भएको थियो। पछि स्थानीसँग प्रतिवाद गर्ने क्रममा उनले आफूले लगाएको ज्याकेटको चेन खोली खुकुरी निकालेका थिए। खुकुरी देखाएलगत्तै वडाध्यक्ष अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वडाध्यक्षले खुकुरी देखाएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो। अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

वडाध्यक्षले नै खुकुरी देखाएपछि स्थानीयले वडा कार्यालयमा ताला लगाइदिएका थिए। उनीहरूले वडा कार्यालयको मूल गेटसँगै वडाध्यक्षको कार्यकक्षमा ताला लगाउनुका साथै वडाध्यक्षको गाडीसमेत तोडफोड गरिदिएका छन्। ल्यान्डफिलसाइट बनाउन नदिने अडान लिएका स्थानीयहरूले माग पूरा नभएसम्म ताला नखोल्ने बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा– १४, बाच्छे बुडुवामा रहेको ल्यान्डफिलसाइट बन्द भएको थियो। पोखराको फोहोर अस्थायी रूपमा ६ महिनाको समय तोकेर पोखरा– ३२, लामेआहालमा फाल्न सुरु गरिएको थियो। ६ महिनाका लागि भनिएकोमा करिब साढे तीन वर्ष हुन लाग्दासमेत स्थायी साइट तयार हुन सकेको छैन। झाँक्री खोलामा ल्यान्डफिलसाइट निर्माण गर्ने दुई वर्षअघिको योजना विवादसँगै अन्य कारणले अघि बढ्न सकेको थिएन।

सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने गरी ‘टेरासोल्भ रिन्युबल नेपाल प्रालि’सँग गत २ मंसिरमा झाँक्री खोलामा ८० करोड लागतमा ल्यान्डफिलसाइटसहितको प्रशोधन केन्द्र निर्माण गर्ने गरी महानगरले सम्झौता गरेको छ। आगामी २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र २५ वर्ष पोखराको फोहोर व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको हो।
 

सुझावित समाचार