कानुनी राज्यको पूर्णरूपमा पुनर्वहाली भइसकेको छ, संवैधानिक व्यवस्थाको पुनर्वहालीका लागि निर्वाचन गरिरहेका छौँ : गृहमन्त्री अर्याल

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी जनआन्दोलनपछि द्वन्द्व दोहोरिन नदिनु नै अहिलेको सरकारको सबैभन्दा ठुलो सफलता भएको बताएका छन्। बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षाको अवस्था सामान्य भइसकेको र अब निर्वाचनमार्फत संवैधानिक व्यवस्था पुनर्वहालीतर्फ सरकार लागेको बताए। 

‘भदौ २३ र २४ को जेन–जी जनआन्दोलनपछि द्वन्द्व दोहोरिन दिएनौँ, सरकारको यो ठुलो सफलता हो,’ उनले भने, ‘राज्यविहीनताको अवस्थाबाट स्थिति सामान्यीकरण गर्दै हामीले कानुनी राज्यको पूर्णरूपमा पुनर्वहाली गरिसकेका छौँ, संवैधानिक व्यवस्थाको पुनर्वहालीका लागि निर्वाचन गरिरहेका छौँ, त्यसपछि कानुनी र संवैधानिक रूपमा स्थितिको सामान्यीकरण हुन्छ ।’ 

अब निर्वाचनको विकल्प नभएकाले सबै त्यसमै केन्द्रित हुनुपर्ने उनको भनाइ छ । २१ फागुनका लागि तोकिएको चुनाव तलमाथि नहुने भन्दै उनले भने, ‘चुनावबाट फर्कने ठाउँ नै छैन । अब चुनाव भएन भने हुन सक्ने द्वन्द्व थेगिनसक्नु हुन सक्छ ।’  सुशासन र निर्वाचन सरकारको मुख्य म्यान्डेट रहेको भन्दै उनले जेन–जी जनआन्दोलनको म्यान्डेटलाई बिर्सियो भने द्वन्द्व दोहोरिन सक्नेतर्फ सचेत गराए। सरकार जेन–जी जनआन्दोलनको म्यान्डेटअनुसार नै सुशासनतर्फ अघि बढेको उनको भनाइ थियो । 

‘सरकारले नागरिकको विश्वास गुमायाे भने असाधारण अवस्था आउन सक्छ । सरकारले सधैँ नागरिकसँग जोडिएर काम गर्नुपर्छ भनेर जेन–जी आन्दोलनले अनुभूति गराएको छ,’ उनले भने, ‘जेन–जी पुस्तासँग पनि जोडिएर, उनीहरूको कुरा सुनेर सरकारले काम गर्नुपर्छ ।’ अहिलेको सरकार निष्पक्ष भएकाले सरकारमा बस्नेहरूलाई कतै ढल्कने छुट नभएको उनको भनाइ छ।  

अहिलेको समयमा सामाजिक सञ्जालमा प्रवाह हुने गलत तथा झुटा सूचनाले राष्ट्रिय सुरक्षामै जोखिम निम्त्याउने भएकाले त्यसको सम्बोधनका लागि सरकारले काम गरिरहेको जानकारी दिए । 

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विगतमा गाउँ–गाउँमा हतियार भएको समयमा समेत चुनाव भएको उदारण दिँदै अहिले शान्तिसुरक्षाको समस्या नभएको बताए । भय र त्रास कम भए पनि विश्वासको वातावरण कम भएकाले राजनीतिक दललाई सरकारले विश्वासमा लिएर जान सुझाव दिए । 

बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शिवराज अधिकारीले निर्वाचनका लागि ढोस सुरक्षा रणनीति बनाएर निर्वाचनमा जानुपर्नेमा सुझाव दिए । 

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्यक्रममा स्वागत मन्तव्य राख्दै सुरक्षा गोष्ठीको औचित्यबारे बताएका थिए । 

निर्वाचनका लागि लक्षित गरी गृह मन्त्रालयले हालसम्म ६ प्रदेशमा सुरक्षा गोष्ठी गरिसकेको छ।  केही दिनपछि मधेश प्रदेशमा गोष्ठी गर्ने तयारी छ । 

एकीकृत सुरक्षा योजनाअनुसार त्यसको कार्यान्वयन गरी भयरहित रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा गोष्ठीहरू भइरहेको गृह मन्त्रालयका प्रवक्ता काफ्ले बताउँछन् । 

सुझावित समाचार