हाम्रो संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकबारे उल्लेख छ । सो धाराको उपधारा (१) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन’ भन्ने उल्लेख गरिएको छ । सोही धारा ३५ कै उपधारा (२) मा ‘प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारका सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।’ भनिएको छ भने उपधारा (३) मा ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’ भनी उल्लेख गरिएको छ । यसका साथै संविधानकै धारा ५१ को (ज) नागरिकका आधारभूत आवश्यकतासम्बन्धी नीतिको नम्बर (५) मा ‘नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जाने’, (६) मा ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने’, (७) मा ‘नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिकलगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्ने’, (८) मा ‘स्वास्थ्य क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै यस क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने’ र (९) मा ‘स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने’, व्यवस्था गरिएको छ । यी सबै जनस्वास्थ्यलाई उच्च महत्व दिई गरिएका व्यवस्था हुन् ।
राज्यमा अहिले नागरिक उपचारको व्यवस्था कस्तो छ ? भन्ने कुरा त सबैसामु छर्लंग नै छ । राज्यले संविधानमा उल्लिखित व्यवस्था मात्रै इमानदारीसाथ कार्यान्वयन गर्ने हो भने विपन्न नेपालीको औषधोपचारको व्यवस्था सर्वसुलभ र सहज हुनेछ । तर, जनस्वास्थ्यउपरको यही आधारभूत कुरा राज्यले किन पूरा गरिरहेको छैन ? यो आमनागरिकबाटै उठिरहेको सवाल हो । जनस्वास्थ्यको आधारभूत पक्षलाई ध्यानमा राखी राज्यले विस्तारित गरेको स्वास्थ्य सेवा केन्द्र अझै पर्याप्त छैनन् । त्यहाँ कार्यरत रहनुपर्ने स्वास्थ्यकर्मी तथा अटुट रूपमा कायम राख्नुपर्ने औषधि व्यवस्थापन कार्य त झनै नाजुक अवस्थामा छ । कतिपय स्थानमा स्वास्थ्य केन्द्रको भवन मात्र छ, सञ्चालनमै ल्याइएको छैन । सञ्चालन गरिएका स्वास्थ्य केन्द्रमा प्राविधिक चिकित्सकको अभाव पनि उत्तिकै छ । औषधि त केही नै छैन भन्दा पनि हुन्छ । आवश्यक पर्ने बिरामीलाई सिटामोल र जीवनजलसम्म स्वास्थ्य सेवा केन्द्रले प्रदान गर्न सक्दैन । स्वास्थ्य सेवा केन्द्रको एकातिर हालत यस्तो छ भने अर्कातिर च्याउझैँ बर्सेनि उम्रँदै आएका प्राविधिक शिक्षालयबाट उत्पादित जनशक्ति बेरोजगार भइरहेका छन् । यो सबै राज्य सञ्चालकको अनुदार मानसिकताकै उपजका कारण निम्तिएको राष्ट्रिय समस्या हो ।
स्वास्थ्य बिमामा समेटिएका बिमितले सरकारी अस्पतालबाटै एक हजार दुई सय अन्ठानब्बे प्रकारका औषधि निःशुल्क प्राप्त गर्नुपर्ने भए पनि उपचारमा पुग्ने बिरामीले चाहिएका प्रायः औषधि अस्पतालको फार्मेसीबाट पाउँदैनन् ।
यही पृष्ठभूमिमा राज्यले निम्न ९८ प्रकारका औषधि नागरिकलाई निःशुल्क वितरण गर्ने घोषणा गरेको छ । आवश्यक पर्ने बिरामीका लागि निःशुल्क वितरण हुने भनिएका यी औषधि तिनले पाएका छन् कि छैनन् त ? यस सम्बन्धमा बिरामी स्वयंले अनुभूति गरेकै होलान् । तथापि, केकस्तो रोग सम्बद्ध, कुन–कुन औषधि राज्यले निःशुल्क दिने व्यवस्था मिलाएको छ भन्नेबारे नागरिकलाई जानकारी हुनैपर्ने भएकाले यहाँ त्यसबारे उल्लेख गरिएको छ :
निःशुल्क वितरण हुने औषधिहरू : (१) जेन्टामाइसिन–नवजात शिशुमा हुने संक्रमण र निमोनियाको, (२) एन्टासिड ग्यास्टिक र पेटको ज्वलनको, (३) फ्रुसिमाइड, हर्टफेलियर र मिर्गौलाको समस्यामा, (४) एम्लोडिपिन– उच्च रक्तचाप, (५) निफोडिपिन– उच्च रक्तचाप, (६) बिसिजी खोप– क्षयरोग विरुद्ध, (७) एस्पिरिन– शरीर र टाउको दुखाइ र माइग्रेन, (८) निफेडिपिन– उच्च रक्तचाप, (९) बेन्जामिन बेन्जाइल पेनिसिलिन– बाथ तथा मुटुरोग, (१०) सेफ्टियाकजोन– कडा इन्फेक्सन, टाइफाइड र निमोनिया, (११) आर्टिमिसिमिन– मलेरिया, (१२) सेफिक्सिम– मिर्गौला, पिसाब, घाँटी र फोक्सोको संक्रमण, (१३) सिप्राएसोस्सासिन– पिसाबको संक्रमण, हैजा, टाइफाइड र ज्वरो, (१४) नाइट्रो फ्युरान्टिन– पिसाब तथा अन्य संक्रमण। (१५) डेक्सामेवासोन– दम र एलर्जी तथा कमन मेडिसिन। (१६) आइरन टेबलेट– गर्भवती र रक्त अल्पता, (१७) म्याग्नेसियम सल्फेट– गर्भवतीमा हुने उच्च रक्तचाप। (१८) मेथाइनडोपा– गर्भावस्थामा हुने रक्तचाप, (१९) ग्लिमी पिराइड– मधुमेह र (२०) मेटफर्मिन– मधुमेह ।
यसैगरी (२१) हाइड्रोकटिसोन– दम, एलर्जी, (२२) सालबुटामोल– दम, (२३) अक्सिजन– दम तथा अक्सिजन आवश्यक पर्ने बिरामीलाई, (२४) प्रेडनिसोलोन– दम, एलर्जी र बाथ, (२५) जापनिज इन्सेफ्लाइटिस– बच्चालाई दिने खोप, (२६) ओआरएस– झाडापखाला, (२७) नर्मल स्लाइन– रगतको कमी, पखाला, पानीको मात्रा कमी हुँदा, (२८) प्यारासिटामोल– ज्वरो कम गर्ने, (२९) भिटामिन ए– भिटामिनको कमी हुन नदिने पोषण, (३०) भिटामिन बी क्प्लेक्स– भिटामिनको कमी हुन नदिने पोषण, (३१) भिटामिन के वान– नवजात शिशुलाई दिने भिटामिन र (३२) सोडियम भाल्पोरेट– छारे रोग ।
(३३) उस्सिइसलिन– स्क्रब टाइफस संक्रमण, श्वास–प्रश्वास समस्या, (३४) रिस्पेरिडोन– मानसिक रोगी, (३५) पिसभी खोप– निमोनिया, (३६) ¥यानिटिडिन– ग्यास्ट्राइटिस, (३७) प्यारिडोक्सिन– टिबीका बिरामीलाई दिने भिटामिन, (३८) फ्लुनेटिन– मानसिक स्वास्थ्य र डिप्रेसन, (३९) सिप्रोफ्लोक्सासिन– पिसाबको संक्रमण, हैजा, टाइफाइड, ज्वरो, (४०) एड्रेनाइलिन– एलर्जी, (४१) अल्बिन्डाजोल– जुका पर्दा, (४२) एमिट्रिप्टिलिन– एन्जाइटी, डिप्रेसन, न्युरोप्याथिक पेन, माइग्रेन (४३) एमोक्सिसिलिन– घाँटीको संक्रमण, (४४) एम्पिसिलिन– घाँटी, श्वासप्रश्वास र बच्चामा हुने संक्रमण, (४५) आर्टेसुनेट– कडा मलेरियाले बेहोस बन्दा, (४६) एट्रोपिन–अगर्नानो फस्फोरस, (४७) एजिथ्रोमाइसिन– यौनजन्य एवं घाँटीको संक्रमण, छाला, पिनास, कान पाकेको, (४८) कालामिन लोसन– चिलाउँदा र ठेउला आउँदा, (४९) क्याल्सियम ग्लुकोनेट– अचेत भएको वेलाको आकस्मिक सेवामा र (५०) कार्बामानेथिन– छारेरोग, न्युरोप्याथिकपेन, माइग्रेनमा ।
यस्तै (५१) सेट्रिजिन– एलर्जी र छालाको समस्या, (५२) चारकोल एक्टिभेटेड– विषादी खाएको बिरामीलाई, (५३) क्लोरहेक्सिडिन– मुखको संक्रमण, शिशुको नाभीमा लाउने मलम, (५४) क्लोरोक्विन– मलेरिया, बाथ, (५५) कोट्रिमाजोल– छाला, योनीको संक्रमण र फंगल इन्सफेक्सनमा, (५६) क्लोब वायल– दाँत दुख्दा, (५७) क्लोक्सासिलिन– छालाको संक्रमण, (५८) पिल्स– परिवार नियोजनको साधन, (५९) कोट्रिमोक्साजोल– छाला, घाँटी पिसाबको संक्रमण, (६०) एमडिटी कम्ब्रिप्याक– कुष्ठरोग, (६१) डेक्सट्रोज– ग्लुकोज, (६२) डाइजेपाम– छारेरोग, ब्याकपेन, निद्रा नलाग्ने र एनजाइटीमा, (६३) डाइक्लोफिन्याक– बाथरोग, अत्यधिक पेन, जोर्नी र ब्याक पेन, (६४) एफआइपिभी खोप– पोलियोविरुद्ध, (६५) फ्लुकोनाजोल– योनीको संक्रमण, छाला संक्रमण र तल्लो पेट दुखेमा, (६६) फोलिक एसिड– गर्भावस्था, (६७) जेन्सन भायोनेट– पोलेको, चोटपटक, टाउकाको संक्रमण, (६८) एचपिभी खोप– प्वापिलोभा भाइरस, (६९) एचप्राइजेडी– क्षयरोग, (७०) हायोसिन ट्युटोब्रोमाइड– वाकवाकी, दुखाइ, (७१) आइबुप्रोफेन– जोर्नी र मांसपेशी दुखाइ र (७२) सेमोनरपेडेट– गर्भनिरोधक चक्की, परिवार नियोजन ।
यसैगरी, (७३) लिग्नोकाइन– दुखाइ कम गर्ने, (७४) निग्नोसाइन विथ एड्रेनानिन– दाँत निकाल्न, (७५) मिजल्स रुवेला खोप– मिजल्स रुबेला, (७६) मेड्रडिलप्रोजेस्ट्रोन– परिवार नियोजन, (७७) मेटोक्लोप्रोमाइड– वाकवाकी वान्ता, (७८) मेट्रोनिडाजोल– आउँ तथा मासी, (७९) भिजोप्रोस्टान– गर्भपतन, (८०) भिजोप्रोस्टल– उच्च रक्तचाप, (८१) नियमाइसिन– छालाको संक्रमण, (८२) ओरल पोलियो खोप– पोलियोविरुद्ध, (८३) अक्सिमेटाजोलिन– नाक बन्द हुँदा वा रगत बगेमा, (८४) अक्सिटोसिन– रक्तस्राव रोक्न, (८५) पेन्टाम्यानेन्ट खोप– टिटानस, डिप्थेरिया, (८६) पर्मेथ्रिन– लुतो, (८७) फेनिरमिन– एलर्जी, (८८) फेनोवाबिटल– छारेरोग, (८९) पोभिडिन आयोडिन– छाला, (९०) प्रालिडोक्सिम सोडियम– प्वाइजनिङमा, (९१) प्रिमाक्विन– मलेरिया, (९२) रिगर स्याक्टेड– रक्तस्राव, झाडापखाला, (९३) रोटा भाइरस खोप– रोटा भाइरसमा, (९४) सिल्भर सल्फाडियानिन– पोलेको घाउको मलम, (९५) टिटानस डिप्थेरिया, (९६) टिटानस टक्साइड– टिटानसविरुद्ध, (९७) टेट्रासाइक्लिन– आँखाको संक्रमण र (९८) टिनिडाजोल– आउँ तथा मासी पर्दा । यी हुन् निःशुल्क पाइने भनिएका औषधिहरू । तर, यी सबै औषधि के सर्वसाधारणले निःशुल्क पाइरहेका छन् त ?
यसका अलावा आकर्षक नाराकै भरमा सर्वसाधारणलाई सरकारले स्वास्थ्य बिमामा समेत समेटेको छ । बिमितले सरकारी अस्पतालबाटै एक हजार दुई सय अन्ठानब्बे प्रकारका निःशुल्क औषधि प्राप्त गर्ने कुरा बिमा बोर्डले प्रचार गर्दै आएको छ । तर, उपचारमा पुग्ने बिरामीले चाहिएको औषधि अस्पतालबाट पाउँदैनन् । बिमाको लिस्टमा उल्लिखित औषधि, विभागबाटै आइनपुगेको, हाल सकिएको, झिकाइएको भनी अस्पताल फार्मेसीले पन्छाउँछ । सस्तो खालको औषधि भने फाट्टफुट्ट उपलब्ध हुन्छ । महँगो औषधि खरिद गर्न अस्पताल स्टाफले नाम लिएकै निजी फार्मेसीमा पुग्नैपर्छ । त्यस्तो हुनुको कारण पनि पारस्परिक लाभ नै हो । यसबारे बिमा बोर्ड, अस्पताल र स्वास्थ्य मन्त्रालयकै पदाधिकारी एक–अर्कालाई दोष दिएर आफू पन्छन्छन् । बिमितलाई तोएिकै औषधि सहज र सुलभ उपलब्ध गराउने दायित्व स्वास्थ्य मन्त्रालयकै हो । तर, मन्त्रालयकै पदाधिकारी लाभप्रति आशक्त बन्दा नै यो प्रवृत्ति अन्त्य हुनुको साटो झन्झन् मौलाइरहेको छ । योभन्दा चरम लापरबाही र गैरजिम्मेवारी अरू के हुन सक्ला ?
सुधारको मानसिकता नराख्ने, पदलाई आर्जनको अवसर ठान्ने, भ्रामक कुराले जनता भुल्याउने, तर कुनै दृष्टान्त दिँदा युरोपियन मुलुकको दिने सत्तासिन नेताले मित्रराष्ट्र भारतकै जनस्वास्थ्यको लोकप्रिय व्यवस्थाको दृष्टान्त किन दिँदैनन् ? स्मरण रहोस्, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रधानमन्त्री भारतीय जनऔषधि परियोजना’ लागु गरेका छन् । यस योजनाअन्तर्गत भारतमा १५ हजारभन्दा बढी जनऔषधि बिक्री केन्द्र स्थापित गरी बजार मूल्यभन्दा पचासदेखि नब्बे प्रतिशतसम्म मूल्य छुट दिई सर्वसाधारणले खरिद गर्न पाउने व्यवस्था गरेका छन् । नेपालमा ब्लडप्रेसरको १५ चक्कीको १२० रुपैयाँ पर्ने माइलोड १०, औषधि भारतमा १५ रुपैयाँमै पाइन्छ । यस्तो लोकप्रिय दृष्टान्त त मोदीका अरू धेरै छन् । यसले मोदी आफैँ सत्तामा टाँसिइरहेका होइनन्, जनप्रिय कार्य गरेकाले जनताले नै उनलाई सत्तासिन गराइरहेका हुन् भन्ने प्रस्ट हुन्छ । के नेपालमा पनि त्यस्तै नेता जन्मिएका होलान् त ?