आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट उपत्यकाका १६ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् । काठमाडौंका १०, ललितपुरका तीन र भक्तपुरका दुई क्षेत्रबाट जिल्लाहरूले सिफारिस भएका सबै उम्मेदवारको नाम सुझावसहित बागमती प्रदेशमा पठाएको छ । सिफारिस भएका नाममा पहिले निर्वाचित भएर दोहोरिइसकेका सांसददेखि नयाँ अनुहारसमेत समेटिएका छन् ।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले क्षेत्रहरूबाट सिफारिस भएका नामलाई सुझावसहित जिल्लाले प्रदेश कमिटीमा पठाइसकेको बताए । अघिल्लो निर्वाचनमा एमालेले काठमाडौं ९ र ललितपुर १ मात्रै जितेको थियो ।
काठमाडौं १ बाट मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालको नाम सिफारिस भएको छ । कार्की पूर्वकेन्द्रीय सदस्य, रेग्मी लेखा आयोग सदस्य र ढकाल जिल्ला सदस्य हुन् । क्षेत्र २ बाट मणिराम फुयाँलको एकल नाम सिफारिस भएको छ । प्रदेश कमिटी सदस्य उनी पूर्वप्रदेश सांसद पनि हुन् । ०७९ मा भने रास्वपाका सोविता गौतमसँग उनी पराजित भएका थिए ।
काठमाडौं ३ बाट रामेश्वर फुयाँल, कृष्ण राई, शान्ति श्रेष्ठ, पेमाछिरी शेर्पा, डा. विदुर चालिसे, विकास चालिसेको नाम सिफारिस भएकोमा जिल्लाले फुयाँल, राई र श्रेष्ठको नाम मात्र माथि पठाएको छ । राई पूर्वसंघीय सांसद तथा पूर्वपोलिटब्युरो सदस्य हुन् । फुयाँल पनि पूर्वसंघीय र प्रदेश सांसद तथा पार्टी केन्द्रीय सदस्य हुन् ।
काठमाडौं ४ बाट सचिव डा. राजन भट्टराई र ५ बाट नेता ईश्वर पोखरेलको एकल नाम सिफारिस भएको छ । भट्टराई लगातार कांग्रेसका गगन थापासँग पराजित हुँदै आएका छन् । यही क्षेत्रबाट यसपटक पूर्वराष्ट्रपति विद्या भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले पनि उम्मेदवार बन्ने इच्छा राखेकी थिइन् । उनको नाम रोस्टरमा समावेश भए पनि जिल्लाले सिफारिसमा भने राखेन ।
पोखरेल ०७४ मा विजयी भए पनि पछिल्लो निर्वाचनमा कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए । पोखरेलले समानुपातिकमै बस्ने इच्छा राखेका थिए । प्रत्यक्षमा पार्टीले सर्वसम्मत नाम सिफारिस गरे पनि उनले अन्तिममा उठ्न नचाहेमा भने छलफलका लागि जिल्लाले दीपक निरौलासहित किरण शाह ठकुरी, डा. दीपेन्द्र श्रेष्ठ, नारायण सिलवाल, बाबुलाल डंगोल, शान्ति बस्नेत अधिकारीको नाम छलफलका लागि पठाएको छ । सिफारिसमा परेका निरौला जिल्ला अध्यक्ष, सिलवाल केन्द्रीय सदस्य तथा डा. दीपेन्द्र नेपाल बुद्धिजीवी परिषद्का महासचिव हुन् ।
काठमाडौं ६ बाट अमनकुमार मास्के, रामेश्वर बोहरा, रुक्मिणी भण्डारीको नाम सिफारिस गरेको छ । उनीहरू पूर्वप्रदेश सदस्य हुन् । क्षेत्र नम्बर ७ बाट सपना अर्याल बानियाँ, प्रेमलाल श्रेष्ठ र प्रकाश श्रेष्ठको नाम सिफारिस भएको छ । प्रकाश पूर्वप्रदेश सदस्य, प्रेमलाल जिल्ला कमिटी सदस्य तथा सपना लेखा आयोगकी सदस्य हुन् ।
क्षेत्र नम्बर ८ बाट राजेश शाक्यको एकल नाम सिफारिस भएको छ । उनी जिल्ला कमिटी सदस्य छन् । क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र मीना काफ्लेको नाम सिफारिस भएको छ । श्रेष्ठ ०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने अजय प्रदेश सभा सांसद निर्वाचित भएका थिए । काफ्ले अहिले प्रदेश कमिटीमा कार्यरत छिन् ।
क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, डा. सुरेन्द्र मानन्धर र सरस्वती खड्काको नाम सिफारिस भएको छ । श्रेष्ठ जिफन्ट अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हुन् । सुरेन्द्र पूर्वकेन्द्रीय सदस्य तथा उपनिर्वाचनमा मेयरमा पराजित भएका थिए । खड्का पार्टीभित्र प्रदेश सदस्य छिन् ।
भक्तपुर १ र २ दुवै निर्वाचन क्षेत्रबाट एमालेले एकल नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट ०७४ मा चाँगुनारायण नगरपालिकाका निर्वाचित मेयर तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य सोम मिश्र र २ बाट पार्टी सचिव तथा पूर्वमन्त्री महेश बस्नेतको एकल नाम एमालेले सिफारिस गरेको छ । क्षेत्र नम्बर १ नेमकिपाको परम्परागत गढका रूपमा चिनिन्छ । २ मा भने ०७४ मा बस्नेत विजयी भएका थिए, तर पछिल्लो निर्वाचनमा भने कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए ।
ललितपुर १ बाट पुरुषोत्तम आचार्य, नवराज सिलवाल, चेतनाथ सञ्जेल, कल्पना रामदाम, मधुसूदन पौडेल, कृष्णमान लामा, चित्रराज तिमल्सिना, रूपनारायण श्रेष्ठ र प्रभाकर थापाको नाम सिफारिस भएको छ । उनीहरूमध्ये आचार्य जिल्ला अध्यक्ष हुन् । सिलवाल पूर्व प्रदेश कमिटी सचिव तथा ०७४ मा निर्वाचित पूर्वसांसद हुन् । सञ्जेल प्रदेश कमिटी सदस्य हुन् । जिल्ला अध्यक्ष आचार्यले बहालवाला जनप्रतिनिधिलाई भने कार्यकाल पूरा हुने गरी सिफारिस भए पनि निर्णय गर्न माथिल्लो कमिटीमा सुझाव राखिएको बताए ।
ललितपुर २ बाट प्रेम महर्जन, हरिकृष्ण व्यञ्जनकार, सहकुल खत्री, किशोरकुमार केसी, सुजिन महर्जन र गोमा महतको नाम सिफारिस भएको छ । प्रेम प्रदेश उपाध्यक्ष तथा ०७९ मा निर्वाचित सांसद, हरिकृष्ण केन्द्रीय सदस्य हुन् । अरू उम्मेदवार भने प्रदेश र जिल्ला नेतृत्व तहमा छन् ।
ललितपुर ३ बाट पुरुषोत्तम ढुंगाना, बाबुराम थापा, ज्ञानभक्त डंगोल, चन्दन थापा, सरस्वती खड्का, डा. टीका ढकाल र राम महर्जनको नाम सिफारिस भएको छ । उनीहरूमध्ये ढकाल पार्टी केन्द्रीय सदस्य, थापा पूर्वकेन्द्रीय सदस्य, ढुंगाना पूर्वजिल्ला अध्यक्ष हुन् ।