काठमाडौँका नदी किनारको मापदण्डबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको नदीहरुको बहाव क्षेत्र स्पष्ट देखिने २०२१/०२२ सालको सर्भे नापी नक्सा झिकाउन आदेश दिएको छ। काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको रिटमा न्यायाधीशहरु डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले यस्तो आदेश गरेको हो ।
शीर्ष नेताको सुरक्षा बढाइयो
सरकारले तीन पूर्वप्रधानमन्त्रीको सुरक्षामा लागि सुरक्षाकर्मी थप गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा थप गरेको हो। चुनाव नजिकिएसँगै सुरक्षा चुनौती पनि बढ्न सक्ने आकलन गरी पछुवासहितको टोली खटाइएको छ। दुई महिनाअघि गृह मन्त्रालयले सुरक्षा मापदण्डविपरीत उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको थियो। नेताहरूले थप सुरक्षा गरेपछि संख्या बढाइएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
तीन मन्त्रीको जिम्मेवारी थपियो
प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन्। मन्त्री कुलमान घिसिङको राजीनामा स्वीकृत गर्दै उनले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी अरुलाई दिइएको हो । उर्जा मन्त्रालय अनिल सिन्हा, भौतिक पूर्वाधार मन्त्रालय माधव चौलागाई र सहरी विकास मन्त्रालय कुमार इङनामलाई दिइएको छ ।
प्रधानमन्त्री कार्कीसँग ओलीको तीन घन्टा लामो छलफल
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन घन्टा लामो छलफल गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास पुगेर उनले छलफल गरेका हुन्। भेटमा २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले बताए । भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा एमालेले देखाएको उत्साहजक भूमिका र प्रक्रिया अगाडि बढाउन सहयोगी भूमिकाका लागि सराहना गरेकी थिइन् ।
आफूखुसी उम्मेदवारी घोषणा नगर्न रास्वपाको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टीले आफैंलाई उम्मेदवारका रुपमा प्रचारप्रसार गर्ने आकांक्षीहरुलाई यस्ता कार्य नगर्न निर्देशन दिएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले बिहीबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालमा राखिएका यस्ता प्रचार सामग्री हटाउन निर्देशन दिएको हो ।
बेदकोट–८ का ६१ किसान ६० वर्षपछि बने जमिनका मालिक
बेदकोट नगरपालिका–८ का ६१ किसान ६० वर्षपछि जमिनका आधिकारिक मालिक बनेका छन्। ०२२ देखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा हात परेसँगै उनीहरू जमिनको मालिक भएका हुन् । बेदकोट नगरपालिकाले यहाँका ६१ किसानलाई वर्षौदेखि भोगचलन गर्दै आएको जमिनको आज लालपुर्जा वितरण गरेको हो। यसअघि पनि नगरपालिकाले दुई वर्षमा ७० किसानलाई लालपुर्जा वितरण गरेको थियो। हालसम्म यहाँका १३१ परिवारले जग्गाधनी लालपुर्जा हात पारिसकेको नगरपालिकाले जनाएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा निर्वाचन प्रहरीको भर्ना लिने
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आगामी चुनावका लागि संयुक्त रूपमा निर्वाचन प्रहरी भर्ना गर्ने भएका छन्। शुक्रबारदेखि निर्वाचन प्रहरीको आवेदन खुल्दै छ। बिहीबार नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा एक लाख ३३ हजार नौ सय ९० निर्वाचन प्रहरीको संख्या मात्र समावेश भएपछि अन्योलता देखिएको थियो। सशस्त्र प्रहरीमातहत पनि १५ हजार एक सय १० निर्वाचन प्रहरी भर्नाका लागि सरकारले स्वीकृति गरिरहेको छ।
नेप्से चार अंकले बढ्दा करिब पाँच अर्बको कारोबार
नेप्से परिसूचक सामान्य अंकले बढेर साताको कारोबार बन्द भएको छ। बिहीबार नेप्से ४.५९ अंक (०.१७ प्रतिशत)ले बढेर दुई हजार ६४०.५४ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले उकालो लागेको छ। आज ३२८ कम्पनीका एक करोड चार लाख ३१ हजार कित्ता सेयर चार अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भयो। अघिल्लो दिन बजार घट्दा पाँच अर्ब १३ करोडबराबरको सेयर कारोबार भएको थियो।
माघेसंक्रान्ति नजिकिएसँगै तरुलले भरियो बजार (फोटोफिचर)
माघेसंक्रान्तिको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड, पिँडालुले बजार भरिन थालेको छ। कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको दुई सयदेखि पाँच सय रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ । ‘पुस पाके माघ खाए’ भन्ने प्रचलनअनुसार नै पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघेसंक्रान्तिमा खाने प्रचलन रहेको छ ।
बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन
बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई तीव्र बनाउन ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ पुनर्गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको रिक्त अध्यक्ष पदमा शिवप्रसाद सिग्देललाई नियुक्त गर्दै सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई मनोनयन गर्ने निर्णय गरेको हो।