परराष्ट्र मन्त्रालयले भेनेजुएलामा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन र थप तनाव बढाउने कार्य नगर्न आग्रह गरेको हो।
गत शनिबार अमेरिकाले ल्याटिन अमेरिकी मुलुक भेनेजुएलाको राजधानी काराकासमा भीषण हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगेको थियो।
सोबारे बुधबार साँझ परराष्ट्रले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख गरिएअनुसार सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्छ।’
परराष्ट्रले संवाद, कूटनीति र आपसी समझदारीको माध्यमबाट विवादहरूको शान्तिपूर्ण समाधान गरिनुपर्नेमा जोड दिएको छ।