गोलबजारबाट खैराे हिरोइनजस्तो पदार्थसहित ६ जना पक्राउ

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको गोलबजार क्षेत्रबाट कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गोलबजार नगरपालिका– ६ लक्ष्मीटोल र २ नम्बर वडाको गुरुधाम गाउँ जाने बोटो छेउको फुसको टहराबाट छुट्टाछुट्टै रूपमा ६ जनालाई पक्राउ गरिएको हो ।

घरमै लागुऔषध बिक्री गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३६ वर्षीय सञ्जीव मोक्तानको घर खानतलासी गर्दा ४५ वटा पोकामा प्याक गरिएको चार ग्राम ४६० मिलिग्राम खैरो हिरोइनजस्तो पदार्थ बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। उनका अनुसार लागुऔषध बरामद भएसँगै तत्काल प्रहरीले मोक्तानसहित स्थानीय करिब १९ वर्षीय रोशन विश्वकर्मा र करिब २८ वर्षीय वसन्त श्रेष्ठलाई समेत पक्राउ गरी गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको छ। 

त्यस्तै, गोलबजार– २, गुरुधाम जाने बाटोछेउमा रहेको फुसको टहरामा लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाको आधारमा गोलबजार तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिन्धुलीको कमलामाई नगरपालिका– ९ का करिब ३९ वर्षीय प्रभात देवकोटा, सिराहाको धनगढीमाई नगरपालिका– ८, चियाबारीका करिब २४ वर्षीय नवराज शर्मा र गोलबजार– ५, सिडिओटोलका करिब २२ वर्षीय अभिषेक यादवलाई प्लास्टिकबाहेक तीन ग्राम आठ सय मिलिग्राम खैरो हिरोइनजस्तो पदार्थसहित पक्राउ गरिएको हो।  

पछिल्लो समय गोलबजार क्षेत्रबाट प्रहरीले पटक–पटक खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामदसँगै त्यसको कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ गरिरहेको छ। तयारी पोसाकका लागि जिल्लामै नमुना बजारको रूपमा रहेको गोलबजार क्षेत्रमा पटक–पटक लागुऔषध कारोबारीहरू पक्राउ पर्न थालेपछि स्थानीय व्यवसायी तथा बुद्धिजीवीहरूले लागुऔषधको कारोबार र दुर्व्यसन रोक्न प्रहरीसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गरिनुपर्ने औँल्याउन थालेका छन्।  
 

See More On

सुझावित समाचार