संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
युएईमा नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’को औपचारिक प्रकाशन शुभारम्भ गर्दै राजदूत क्षेत्रीले विदेशमा रहेका नेपालीबिच आपसी एकता र सम्बन्ध सधैँ मजबुत हुनुपर्नेमा जोड दिए। दुबईमा आयोजित कार्यक्रममा बोल्दै राजदूत क्षेत्रीले युएईको संस्कृति, विकास, उन्नति–प्रगतिका सकारात्मक कुराहरूको प्रचारप्रसार गरी त्यसबाट नेपालले धेरै कुराहरू सिक्न सक्ने बताए ।
उनले नेपाली समुदायलाई पत्रिका पढ्न, प्रवर्द्धन गर्न र संरक्षण गर्न आग्रह गर्दै ‘विश्व सन्देश’ नेपाली इतिहास, संस्कार र पहिचानको महत्त्वपूर्ण दस्ताबेज भएको बताए। उनले नेपाली भाषा र सभ्यताको प्रवर्द्धनमा योगदान दिने यस्ता प्रयासहरूमा कूटनीतिक नियोगको निरन्तर सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा विश्व सन्देशका ग्लोबल अध्यक्ष विजयराम पौडेलले प्रिन्ट मिडियाको महत्त्वबारे चर्चा गर्दै प्रवासमा रहेका लाखौँ नेपालीहरूको इतिहास, संघर्ष र सफलताका कथाहरू लिपिबद्ध गर्ने उद्देश्यका साथ विश्व सन्देश प्रकाशनमा ल्याइएको बताए। उनले पत्रिकामार्फत नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष मेघराज सापकोटाले युएईमा रहेका नेपाली समुदायका सफलताका कथाहरू, व्यवसाय प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा विश्व सन्देशले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।