राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको जिल्ला अध्यक्षमा पुनः ललितकुमार राई चयन भएका छन् । राप्रपाको तेस्रो जिल्ला अधिवेशनबाट ललितकुमार दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरूमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गंगा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की र कोषाध्यक्षमा टीका खत्री चयन भएका छन्। दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा आयोजित राप्रपा खोटाङको तेस्रो जिल्ला अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ ।
जिल्ला कार्यसमितिको पुस २२ र २३ गते भएको जिल्ला अधिवेशनले दुईवटै क्षेत्रको क्षेत्रीय समितिसमेत चयन गरिएको राप्रपा खोटाङले जनाएको छ। क्षेत्र नं. १ (क)मा शिवकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय तथा क्षेत्र नं. २ (ख)मा विनोद बस्नेतको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति चयन गरिएको नवनिर्वाचित जिल्ला अध्यक्ष ललितकुमारले जानकारी दिएका छन्।
राप्रपा खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारसमेत सिफारिस गरिसकेको छ। प्रत्यक्षतर्फ गुणराज राजभण्डारी, सर्जु श्रेष्ठ र कृष्णकुमारी राई तथा समानुपातिकतर्फ विजयकला राई, शिवकुमार भट्टराई र भरु विश्वकर्माको नाम सर्वसम्मत् निर्णय गरेर सिफारिस गरिएको राप्रपा खोटाङले जनाएको छ।